Wednesday, January 7, 2015



यसर्थ चुम्लुङको माया लाग्छ

 

वि.स. २०४६ भाद्र १७ गते त्रिभुवन विश्वविद्यालयका केही लिम्बु विद्यार्थीहरुले शुरु गरेको किरात याक्थुङ चुम्लुङ विस्तारै समग्र लिम्बु जातिको साझा संस्थाको रुपमा विकसित भयो । वि.स. ४७/४८ को कुरा हो जिल्ला जिल्लामा पनि विस्तार भयो र त्यसपछि गाँउगाँउमा पनि यसको विस्तार भयो । म त्यसवेला ९ कक्षामा पढथे । म हात्तिखर्क गाविस चुम्लुङ इकाइको सचिव चुनिए । म आफै साइनबोर्ड पनि कोर्न मनपराउने भएकोले किरात याक्थुङ चुम्लुङ हात्तिखर्क गाविस समितिको कार्यालय भन्ने साइनबोर्ड निलो पृष्ठभूमिमा सेतो अक्षरले लेखे त्यो साइनबोर्ड अझै पनि पंचमीको प्रेम मादेनको घरमा राम्रै अवस्था देखिन्छ ।

नीलो कपडामा सिलामसाक्माको सेतो रोगनले नक्सा कोरेर झण्डाको रुपमा चलायौ । त्यो बेला मेरो छिमेकी स्व. लोकेन्द्र बहादुर तिगेला दाजु जिल्ला समितिमा हुनुहुन्थ्यो । र, गाँउमा चाहि साहै सजिला सहयोगि मध्ये हुकुम प्रसाद मादेनको सम्झना आउछ । हामीले माघ १ गते किरात नयाँ बर्षको पहिलो दिन भनेर कार्यक्रमको आयोजना गरयौ । म साम्माङ युवा क्लबको अध्यक्ष र सप्तरंगी साप्ताहिक साँझको संयोजक भएकोले नाच्ने नानीहरुलाई उक्त नयाँ बर्षको दिन पनि नचाए । त्यो कार्यक्रममा शेखर आलेमगरले अतिथिको रुपमा बोल्नुभयो । राजा यलम्बरले राज्य शुरु गरेको पहिलो दिनको कारणले होला यो माघ १ गते नयाँ बर्ष मनाइएको वहाले तर्क राख्नुभयो । मलाई त्यो गजब लाग्यो खोइ किन हो मैले राजा यलम्बरको बारेमा सुनेको रहेनछु । त्यति चाहि अहिले सम्म सम्झना छ ।
केही बर्षपछि लोकेन्द्र दाजु किरात याक्थुङ चुम्लुङ जिल्लाको अध्यक्ष र किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला समितिको पनि अध्यक्ष हुनु भएको बेला हात्तिखर्कबाट ४/५ घण्टाको बाटो हिडदै धनकुटा सदरमुकाम आई चुम्लुङको बैठक बसेर चुम्लुङ केन्द्रलाई पत्र लेख्ने निर्णय गरयौ र मैले कियाचु जिल्ला सहसचिवको हैसियतले लेखेः चुम्लुङ केन्द्रले किरात धर्मलाई याक्थुङबाहरुको धर्म हो भनी घोषणा गरियोस र चाडवार्डको तिथिमिति किरात धर्म तथा साहित्य उत्थान संघ र चुम्लुङको एउटैहोस नत्र हामी बहिष्कार गर्छौ भन्ने आग्रहको धम्किपूर्ण थियो । त्यहि ब्यहोराको चिठ्ठि अर्को बर्ष पनि लेखेर केन्द्रमा पठायौ, २ वर्षमा दुई पटक लेख्यौ, लेखे । जिल्ला सचिव नरप्रसाद चेम्जोङ र केन्द्रमा मंजुल याक्थुम्बा अध्यक्ष हुनुहुन्थ्यो । त्यसको लगतै मैले धनकुटा बहूमुखि क्याम्पसमा कानुनको विधार्थी भई अध्ययन शुरु गरे । त्यो बेला नेपाल स्वतन्त्र विद्यार्थी मोर्चाको जिल्ला सभापति र पूर्वाचल उपाध्यक्ष पनि थिए । पूर्वान्चल समितिको अध्यक्ष धरानका योगेन्द्र पालुङवा थिए । मैले क्याम्पसमा पनि चुम्लुङ ईकाइ निर्माणको लागि सोधिखोजि शुरु गरे र पढाइमा सिनीयर ज्ञान पारघारी अध्यक्ष र म सचिव रहेको समिति तयार भयो र फक्ताङलुङ नामक भित्ते पत्रिका नियमित प्रकाशन शुरु गरयौ ।

वि.स. २०४९ मा एसएलसी दिए लगतै १५ दिन काठमाडौ घुम्न आउदा नेपाल आदिवासी जनजाति महासंघका नेता झयाप्प कपाल पाल्नु भएका सुरेस आलेमगर र पर्शुराम तामाङलाई अफिसमै गएर भेटे । त्यो बेला महासङ्घको कार्यालय पुरानो बसपार्क अगाडिको घरको एकतला माथि थियो । फर्किएर धनकुटामा पुगेर क्याम्पस शुरु गरेको केही महिना पछि सम्भवतः नेपालको इतिहासमै पहिलो नेपाल आदिवासी जनजाति महासघं, क्याम्पस इकाई समिति गठन गरयौ र त्यसको संयोजक म थिए । सहसयोजकमा गणेश गोङबा थिए । उक्त समितिमा मगर विद्यार्थी संघ, तामाङ, राई विद्यार्थी लगायत ५ विद्यार्थी संगठनहरु आबद्ध थिए । ठिक त्यसै बेला एकाबिहानै रेडियोबाट संस्कृतिमा समाचार शुरुभयो त्यसैले विरोध स्वरुप कार्यक्रम गरि रेडियो जलाइयो । संस्कृत पठनपाठनको विरोधमा पुस्तक जलाइयो । धरानको साकेला नाच्ने ठाँउलाई अस्पताल बनाउन भत्काइदिए बापत भानुचोक भत्काउन तम्तयार भयौ त्यसको नेतृत्व धनकुटाबाट मैले गरेको थिए । त्यो बेला मेरो पत्रकारिता पनि शुरुभईससकेको थियो । यति सम्म की क्याम्पसको सर्बदलिय बैठकमा म वा मेरो  संगठनको उपस्थिती विना बैठकले कुनै निर्णय गर्न मिल्दैनथियो ।

छिमेकी दाजु शिव कुमार सर लिम्बु भाषा लिपी सम्बन्धि गोष्ठि तथा प्रशिक्षण तालिमको लागि धरान आउनु भई तालिम पुरागरेपछि  हाम्रो गाँउ छथर जोरपाटी १ साबिक हात्तिखर्क गाविस, सुन्तलेको नयाँघरे टोलमा पठन पाठन शुरुभयो । वहाको सहप्रशिक्षक म थिए । बेलुकीबेलुकी पेट्रोलमेक्स बालेर तिनचार महिनाको कोर्ष दुईतिन बर्ष नियमित पठन पाठन गरायौ । तत्कालिन चुम्लुङ केन्द्रका सचिव नरप्रसाद लुम्फूवा निरिक्षणलाई पनि आउनु भएको थियो । वहा धनकुटा बजार आउनु भएको वेला देब्रेवास मेरै कोठामा बस्नुभयो क्याम्पसमा पनि चुम्लुङ विद्यार्थी साथिहरु भेला गरेर वहासँग साक्षात्कार/अन्तरक्रिया कार्यक्रम गरियो । 

त्यो बेला हामीलाई किरात लिपी भएको बि. बि. सुब्बा नुगो सिक्किमले लेखेको रातो गाता भएको १ प्रति मात्र पुस्तक थियो । लिम्बु भषा र लिपी सिक्ने हाम्रा विद्यार्थीका लागि पुस्तकहरु नै थिएनन् त्यसैले मैले लिथो मेसिनबाट १५० प्रति बनाए र कभर चाहि धनकुटा तल्लोकोप्चे प्रधान प्रिन्टिङप्रेसमा छापेर वि.स. २०५१/५/१ मा विद्यार्थीहरुलाई बाँडेको पनि थिए । त्यो पुस्तकको केही प्रति अझै कहिकतै पाइन्छन् । चुम्लुङ केन्द्रको आयोजनामा धरानमा सम्पन्न एक गोष्ठिले किरात लिपीलाई किरात सिरिजङ्गा लिपी भन्ने र लिम्बु भाषाका प्रयोग नहुने ११ वटा (श, ट, ड, त्र, झ, ठ, ण, ज्ञ, ञ, ढ ष) ब्यन्जनबर्ण र ३ वटा बाह्रखरी (की, कू, कं) लाई पनि हटाएको थियो । ब्यपाक विरोध भएको कारण पछाडि पुनः प्रचलनमा ल्याइएको छ ।
समय महिना बर्ष बित्दै गयो र विश्व आदिवासी दिवस सबैभन्दा पहिला वि.स. २०५२ (सन् १९९५) मा जेनेभा गई फर्कनु भएका दुर्गा लिंखालाई नै धनकुटाको आदिवासी दिवसको संयोजक बनायौ । त्यो वेला रकम चेम्जोङ र गोपाल गुरागाई माननीय सांसद हुनुहुन्थ्यो । धनकुटा बजारको त्रिवेणी विद्यालयमा बसेको बैठकको संचालन सान्त समाल मगरले गर्नुभएको थियो । उक्त विश्व आदिवासी समारोहको लागि नरप्रसाद चेम्जोङ दाई र म पैसा सहयोग माग्न धनकुटाको बजारमा निक्कै दुःख गरेर हिड्यौ ।

मलाई नयाँनयाँ कुरा सिक्न औधि रहर थियो र मलाई घरबाट छुट पनि थियो । विद्यालयको बैठकमा बुबालाई चिठ्ठि काटिएको हुन्थ्यो बुबाले मलाई नै तँ जा भनेर म सानो कलिलोलाई नै पठाउनु हुन्थ्यो । म त्यो बेला समाजसेवा र राजनीति भनेपछि सबथोक बिर्षन्थे । त्यो वेला कोङ्पी पत्रिका, कईरन पत्रिका, नेपालको राजनीतिमा अदेख्खा सच्चाई गोपाल गुरुङको पुस्तक, नेपालमा जातिय मुक्ति आन्दोलन गोपाल खम्बुको पुस्तक, किरातबारे ३ कुरा पेशल राईको पुस्तक दोहोर्याई दोहोर्याई पढेको थिए । मलाई तिनै पुस्तक र पत्रिकाहरुले यो क्षेत्रमा आकर्षण गरयो । वि.स. २०५० मा हुनुपर्छ धनकुटा जिल्लाको किरात धर्म तथा साहित्य उत्थान संघको तर्फबाट जितमान सिं तिगेला दाजु, रणवीर माङयाक बाजे र म हात्तिलेदा, इलाममा धर्मगुरु आत्मानन्दको दर्शन गर्न पनि मंसिर महिनामा गएका थियौ ।

वि.स. २०५२ मा म युके भित्रिए । यद्यपी, म चुम्लुङ पदाधिकारी थिए । पहिलो छुटटीमा हुनुपर्छ इलाम बजारमा फागुन २१ देखि २३, २०५५ मा सम्पन्न चौथो महाधिवेशनमा धनकुटा चुम्लुङको तर्फबाट म पर्यवेक्षक थिए । पूर्व अर्थराज्य मन्त्री हरीराज खेवा धनकुटा चुम्लुङको सचिव हुनुहुन्थ्यो । त्यो महाधिवेशनले मन्जुल याक्थुङवालाई पुनः अर्को कार्यकाल थपिदियो र सबैभन्दा महत्वपूर्ण कुरा लिम्बु जातिको धर्म किरात हो भनेर घोषणा गरयो । त्यो उपलब्धि मेरो पनि हो भन्ने लाग्यो । अहिले जस्तो गहिरो अध्ययन त्यो बेला पुगेन सायद, युमाको बारेमा बहस हुदैन्थ्यो । त्यहि बेला नै मलाई नरप्रसाद चेम्जोङ दाईले किरात याक्थुङ चुम्लुङ, नेपालको आजीवन सदस्यताको ठूलो प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
वि.स. २०६१/६२ तिर हुनुपर्छ म वेभसाइट डिजाइन सिकिसकेको थिए । र, नेपाल छुटिट गएको बेला किरात याक्थुङ चुम्लुङको केन्द्रीय कार्यालय महालक्ष्मीस्थान, ललितपुरमा गई चुम्लुङ अध्यक्ष अर्जुन नुगो सरलाई भेटेर अब चुम्लुङको वेभसाइट बनाउनु पर्छ भनेर आग्रह गरे । तब मलाई नै जिम्मा दिनुभयो र १५ दिन लगाएर चुम्लुङको वेभसाइट ड्रिमवेभर र पिएचपी प्रोग्रामिकबाट डिजाईन गरि अपलोड गरियो, सम्भवतः त्यो बेला जातिय उत्थान संस्थाहरु मध्ये पहिलो वेभसाइट बनाउने चुम्लुङ पहिलो हुनपुग्यो लाग्छ । चुम्लुङको वेभसाइट बनाउन मलाई सिर्जना सुब्बाले सहयोग गर्नुभएको थियो । त्यो पहिलो बर्ष ५० एमबि होष्टिङ वापत ७ हजार २ सय रुपैया मर्कन्टाइलमा तिरयौ । त्यसपश्चात भने लगभग १६ बर्ष (२०५९ – २०७५) चुम्लुङको वेव होष्टिङ, डोमेनको पैसा मैले नै सौजन्य गरेको कारण चुम्लुङ केन्द्रले त्यसको लागि आभारपत्र वि.स. २०७५/१०/१५ गते दिएको छ । उक्त चुम्लुङको वेभसाइटको सिक्किमबाट पाल्नु भएका पाहुना पदमसिं मुरिङला ज्यूले २०५९ मा चुम्लुङ अफिसमा एक समारोहमा उद्घाटन गर्नुभएको थियो । त्यहि सेरोफेरोमा विक्रम सुब्बा र अमर तुम्याहाँङको सल्लाहमा लिम्बुलाईब्रेरीडटकमडटएनपी बेवभसाइट पनि संचालन गरियो । लिम्बु भाषा, साहित्य र संस्कृतिको बारेमा लेखिएको सम्पूर्ण प्राप्त पुस्तकहरुलाई पनि अनलाईनमा एकैठाँउमा राख्यौ । अझै सो डोमेन उपलब्ध छ । उसो त पहिलो लिम्बु भाषाको खण्डकाब्य, सेसेमी से नाल्बोद्धारा लिखित पुस्तकको प्रकाशन वि.स. २०५३ तिर मैले नै अवसर पाएको थिए भने अमर तुम्याहाँङद्धारा लिखित लिम्बु भाषाको पहिलो महाकाब्य ईमानसिंह चोत्लुङ पुस्तकको प्रकाशन समेत म र वानेश्वर नेम्बाङजी भएर दुईजनाले प्रकाशन गरेका थियौ ।

आफ्नो जातिको इतिहास खोज्नेक्रममा सिक्किम गान्तोक, कालिम्पोङ, गेजिङ, सोरेङ, दार्जिलिङका विभिन्न ठाँउहरुमा गएर ‘अपतन’ नेपाली साहित्य तथा लिम्बु साहित्यको इतिहास रहेको ‘मृद्धुल पदम‘ बृत्तचित्र पनि म स्वयं निर्माता रहि चुम्लुङको अभियानमा सरिक बने ।

होष्टिङ, डोमेन र वेभडिजाइन बेग्लाबेग्लै कुरा हुन । लगभग ३ बर्षअघि नयाँ अनुहारको वेभडिजाइन चाहियो भनेपछि मेरो मित्र सुरेन्द्र इङनामले रु २५ हजार तिरिदिएर प्रवेश सुवेदी जीले बनाईदिनु भएको हो सन् २०१३ तिरको नेपाल चुम्लुङको वेभसाइट । 

सानै देखि, लामो समय देखि काम गर्दै आएको कारणले होला चुम्लुङको गाँउ ईकाइ समितिमा, जिल्ला समितिमा, केन्द्रमा र काठमाडौको नयाँवासी भएकोले काठमाडौ जिल्ला चुम्लुङमा त्यतिले मात्र भएन अब युकेमा पनि सक्रियता जारी छ ।

युके चुम्लुङको स्थापना सन् २००३ मा भएको हो । चुम्लुङको दोस्रो कार्यकालको अध्यक्ष सिरिप्रसाद लिम्बु हुनुहुन्थ्यो । बहाको पालामा चुम्लुङको कागजपत्र बनाउन मैले सहयोग गर्नुपथ्र्यो । त्यो बेला चुम्लुङ साच्चै सुन्दर र सन्तुलित थियो ।

प्रवासी नेपाली साहित्य समाजको एक ठूलो कार्यक्रम फक्स्टोनमा थियो । फक्स्टोनको सर्नकिल्फ कम्युनिटी हलमा एक साहित्यिक कार्यक्रम थियो जुन बिहानको साढे ५ बजे मात्र सिद्धिएको थियो । त्यसबेला म कार्यक्रमस्थल नजिकै ५९ मेकान्जि ड्राइभमा बस्ने भएकोले टंक बनेम, भरुपल चोङवाङ, मिजास तेम्बे मेरै घरमा सुत्नुभयो । बिहान खाना लिन शुरु गरयौ तब मलाई टंक दाईको लिम्बु भाषाको ज्ञानको लोभ भयो र खाना लिदै गर्दा प्याट्ट एउटा प्रस्ताव राखेः होइन एउटा लिम्बु भाषाको पत्रिका प्रकाशन गरौ तपाईहरु के भन्नुहुन्छ भनेर प्रस्ताव राखे तब सबैले ल हुन्छ गरौ भन्नेमा सहमति भयो । नामको बारे पनि चर्चा भयो यो गोराको देशलाई के भनिन्छ लिम्बु भाषामा टंक दाईलाई मेरो प्रश्न थपियो । अब पत्रिका झिक्ने चाहि सहमति भयो अब पैसा चाहि कसरी जुटाउने ? अन्ततः त्यो वेला चुम्लुङ अध्यक्ष संग नजिक भई काम गरिरहेको कारण लौ एकपटक चुम्लुङलाई सोधौ न त भन्ने सहमति भयो । र, केही दिनपछि म कोसभो गए र त्यहिबाट टंक दाई, अन्य साथिहरु र चुम्लुङ अध्यक्ष अनि नेपालका अमर तुम्याहाँङ संग सम्पर्क गरि अन्ततः चुम्लुङको मुखपत्रको रुपमा मिक्फूला लाजे इङघङ पहिलो अंक प्रकाशित भयो ।
 त्यहिबेला चुम्लुङ युकेको वेभसाइट चुम्लुङयुकेडटकम धेरैदिन दुःख गरेर बनाई दिए । सबैकुराको नयाँ डिजाइन र सबैकुरा खोज्नुपर्ने भएकोले निक्कै समय लाग्यो । युके चुम्लुङको वेभहोष्टिङ र डोमेन वापत एकपटक डम्बर सिंगकको अध्यक्षतामा र अर्को पटक गरि जम्मा दुईपटक, दुईबर्षको निमित्त युके चुम्लुङले होष्टिङ र डोमेनको पैसा दियो । आफ्नै संस्था माग्न पनि अप्ठयारो । म २००९ मा ब्रुनाई गए त्यसपछि युकेमा पनि शाखाहरु बन्न शुरुभयो । पूर्व अध्यक्ष सुवास जवेगु दाईको पालामा विगत ६/७ बर्षदेखि चल्दै आएको वेभ डोमेन हुदाहुदैपनि जानकारी नै वेगर चुम्लुङयुकेडटअर्ग शुरु गर्नुभएछ । वेभ र होष्टिङको लागि प्रत्येक दिन सानो शुल्क तिरी राख्नुपर्छ । बर्षबर्षको तिर्ने प्रावधान भएकोले हाम्रै चुम्लुङको हो भनेर रिन्यू गरिदिदै गए तर यता चुम्लुङलाई भने कुनै वास्तै भएन क्यारे । हुन त लिम्बु लाइब्रेरीडटअर्गडटएनपी पनि विगत ८ नौ बर्ष शित्तैमा चल्यो पनि तर त्यसबाट केही धन्यवादका शब्दहरु त आए तर चुम्लुङ युकेबाट त्यो अपेक्षा पनि हुनेकुरो भएन । सुवास जवेगुले जिम्मेवारी लिने बेला उक्त वेभसाइटलाई विजय लिङदेन जीले अपटुडेट गर्नेगर्नुहुन्थ्यो । सायद निशुल्क कसैबाट प्रायोजन भएको कारण हस्तान्तर गर्न विर्षिएको पनि हुन सक्दछन ।

सन् २००९ मा जागिरको शिलशिलामा ब्रुनाई पुगे तब सेरियामा रहदै आए र जिआरयूका याक्थुङ्बाहरुसँग सम्पर्क बढाउन वहाहरुलाई सेरियामा हामी किरातीहरुको चाडको कार्यक्रममा निमन्त्रणा गरयौ तब अर्कोबर्ष देखि हामीलाई पनि जिआरयूमा चासोक तङनाममा बोलाउनु भयो र हामीले सयुक्तरुपबाट तङनामहरु मनायौ । संसारको जुनसुकै कुनामा पुगेपनि आफ्नो भाषा, लिपी, संस्कार संस्कृतिको निमित्त एकैदिन पनि चुपलागेर बसिएनछ झै लाग्दछ । ब्रुनाईको कार्यक्रममा राई, याख्खा, सुनुवार र जिरेललाई समेत समेटेर कार्यक्रमहरु गरयौ । कार्यक्रमको संयोजक म रहेपनि सबैको सल्लाह र सर्वसम्मत विधिबाट कार्यक्रम गरिएकोले अहिले सम्झन्दा पनि गौरव लाग्दछ ।

त्यसैबेलाको सेरोफेरोमा प्रज्ञा बैरागी काँईलासँग काठमाडौंमा भेटगरे र वहाले म जन्मेको सालमै ५ वटा पुस्तक हुने मुन्धुम संकलन गरेर तयार गर्नुभएको रहेछ, सो कुराको जानकारी भएपछि साथीद्धय सुरेन्द्र इङनाम र जितेन्द्र चेम्जोङलाई आग्रह गरेर हामी ३ जनाले प्रज्ञा काँईलाको ५ वटा याक्थुङ मुन्धुमको पुस्तक एकै पटक छापेर प्रकाशित गरयौ र सो पुस्तकबाट आएको आय पनि लेखक काईलाकै निमित्त भनेर हामीले लिएनौ । उसो त झमक घिमिरेको जीबन काँडा की फूल नामक पुस्तक लगायत जम्मा ८ वटा पुस्तक प्रकाशित गरिदिएको छु तर कुनैपनि पुस्तकको आय मैले लिएको छैन, केवल निस्वार्थ सहयोग मात्र हुन ।

सौभाग्यवस युके चुम्लुङको सन् २०१७ को महाधिवेशनबाट म सचिवमा चयन भए । किरात याक्थुङ चुम्लुङ जस्तै अन्य जातिको युके स्थित जातिय उत्थान संस्थाहरुले आआफ्नो घर किनी सकेका थिए । तमु धीले मिचेटमा तमु घर, राई यायोख्खाले ग्याम्बरल्याडमा जग्गा, मगरले फान्ब्रोमा मगर भवन लगायत खरिद गरिसकेका थिए । हामी लिम्बुहरु चाहि छलफलमै मात्र सिमित थियौ, चुम्लुङ घर किन्ने भनेर शुरुवात सन् २०१२/१३ तिरै गरेका थियौ तर समस्यामा थियौ, थोरै रकम उठाउदै पनि थियौ तर के गर्ने, कहाँ किन्ने निक्र्यौलमा पुग्न सकेका थिएनौ अन्ततः “त चिता म पुरयाउछु” भन्ने उखान झै हामीले शुरुवात गरयौ र सबैको उत्तिकै सहभागिता र सक्रियतामा हामीले साढे १६ विघा जग्गा र घर सहित मेडस्टोन नजिक याल्डिङमा चुम्लुङदेन खरिद गरि याक्थुबा, याक्थुङ्माको माङ्गेना उठायौं । मलाई लाग्छ हामीले अरु धेरै गर्न सक्ने प्रचुर सम्भावनाहरु छन् । युके चुम्लुङको सन्दर्भमा स्थापना कालदेखि यहासम्म विभिन्न कालखण्डमा विभिन्न ब्यक्तित्वहरुले अतुलनिय योगदान दिएका छन । उनीहरुको योगदानको सम्मान गर्दा हामीकसैलाई हानीहुदैन, सबैजना आपसमा मिलेर अगाडी जानु नै अहिलेको आवश्यकता हो ।


१ अगष्ट २०२४ 


१० नोभेम्बर २०१४

No comments:

Post a Comment