Tuesday, January 15, 2019

संचार र समाजको निम्ति महत्वपूर्ण योगदान - विश्वास दीप तिगेला

एक समाजशास्त्री जिम मोरिसनको भनाई छ “जसले मिडिया कन्ट्रोल गर्छ, उसैले तपाईको दिमाग पनि कन्ट्रोल गर्दछ ।”यो भनाईलाई नियाल्ने हो भने साच्चै एक निर्दोषलाई पटकपटक मिडियाले दोषी भनी लेखिदिने हो भने समाजले उसलाई दोषी नै देख्न शुरु गर्दछ । आरोपित ब्यक्तिलाई आफ्नो भनाई वा स्पष्टिकरण राख्ने अवसर नहुनु हो त मिडिया साच्चै नै निर्दयी हुनपुग्दछ । तर, फलाम काटन फलाम नै चाहिन्छ भने झै मिडियाको गलत काम चिर्न पनि मिडिया नै चाहिन्छ । सबै मिडिया गलत हुदैन्न र सधै गलत हुदैन्न तर मिडियाको भूमिका बेलाबखत असरकारी हुने गर्दछ । उसो त ब्यापार बढाउन पनि मिडिया चाहिन्छ, आफैलाई समाजमा बिकाउन पनि मिडिया चाहिन्छ, अधिकारको आवाज उठाउन पनि मिडिया चाहिन्छ । त्यसैले युकेकै राजनीतिज्ञ एडमण्ड बर्कले सन् १९४१ मा तत्कालिन प्रिन्ट पत्रकारितालाई राज्यको चौथो शक्ति मानेका थिए । अहिले पनि कार्यपालिका, ब्यवस्थापिका र न्यायपालिका पश्चात मिडियालाई चौथो अंगको रुपमा मानिन्छ र मानिसको निम्ति मिडिया अभिन्न अंग हो भन्ने पुष्ट्याई हुन्छ ।

विश्वकै पहिलो प्रिन्ट पत्रिका योहान कारलोस (जर्मनी) सन १५७५, बृट्रेनको पहिलो प्रिन्ट पत्रिका द अक्सफोर्ड ग्याजेट १६६५ देखि युकेमा रहेका नेपालीहरुको पहिलो सगरमाथा टाइम्स सन् १९९३ हुदै अहिले अत्यन्तै लोकप्रिय पत्रिका एभरेष्ट टाईम्स पत्रिका सम्म आईपुग्दा । हामीले धेरै पाठ सिकिसकेका छौ र सिकिरहेका छौ । पछिल्लो दशक सोसल मिडियाको विकास र विस्तार संगै सयौ बर्ष पुराना विश्वब्यापी पत्रिका न्यूजअफ दि वल्ड लगायत सन् २०१७ मा मात्र युकेको ४० वटा र सन् २००५ देखि यता जम्मा १९८ वटा प्रिन्ट पत्रिकाहरु बन्द भएको तथ्याङ छ । यसर्थ पनि नयाँ परिवेश संगै हाम्रा मिडियाहरुलाई अगाडि लैजान पर्ने दबाब छ । प्राप्त तथ्याङ्क अनुसार अहिले विश्वमा ४ दशमलव ६२ मिलियन वेभसाइटहरु मध्ये २५ प्रतिशत मात्र प्रभावकारी छन् ।

नयाँ प्रविधिले नयाँनयाँ सुविधा ल्याएपनि । प्रिन्ट पत्रिका पढने वृद्धा तथा अधवैंसे पुस्ता छदैछन । प्रिन्ट पत्रिका पढनुको मज्जा वेभपेज पढ्नुले दिन सक्दैसक्दैन । युकेको निम्ति नयाँ माइग्रेन गोर्खालीहरुको अवस्थाले पनि प्रिन्ट पत्रिका चाहिन्छ नै । स्तरियता, निरन्तरता, समावेशिता र समाजप्रतिको उत्तरदायित्व इत्यादी एभरेष्ट टाईम्स पत्रिकाले अविछिन्न समेटदै आएको पाइन्छ । यसको ब्यवसायिकता नै यसको मुल आधार हो । सन् २००८ देखि शुरु भएर एक दशक भब्य सफलतापूर्वक झनै लोकप्रिय बनेर आउनु चानचुने कुरा होइन । सामाजिक दायित्व सहितको सामुहिक कर्म नै आजको एभरेष्ट टाईम्स हो । जसरी यसले वेभसाइटलाई प्रभावकारी ढंगले संचालन गरिरहेको छ । प्रिन्ट कपीमा सबै संघसस्थाहरुलाई स्थान दिई रहेको छ । यो एक उद्धाहरणिय कार्य हो । समय यति बदलिन्दो छ की राजनैतिक सरकार नै कोअपरिटिव क्यापटिलिजमहरु एकएक सफल भईरहेका छन जस्तै ताईवान, जापान र सिंगापुर आदि । त्यसले के इंगित गर्दछ भने अहिलेको हरेक इन्स्टििच्युसनहरु सहकारीमुलक हुनपर्ने आवश्यक देखिन्छ । जुन कुरालाई एभरेष्ट टाईम्स पत्रिका परिवारले गर्दै आएको देखिन्छ ।

एभरेष्ट टाईम्स जसरी सिंगो एउटा इन्टिच्युसन बन्यो त्यसले दीर्घकाल सम्म ररिरहने विश्वास दिलाउछ । झट्ट हेर्दा पत्रिका मात्र देखिन्छ तर यसैको मेसोमा एभरेष्ट टाइम्सले युकेको नेपाली पत्रकारिता क्षेत्रमा पुरयाएको योगदान अभूतपूर्व छ । धेरै सिकारु लेखक तथा पत्रकारहरुलाई स्थापित गराएको छ । पत्रिका नपढनेहरुलाई पढने बनाएको छ । फोटो सेक्सनले अरुलाई आकर्षित गरेको छ । युकेमा अन्य मुलुकका नागरिकलाई देखाउन मिल्ने पत्रिका बनेको छ । अग्रज तथा विज्ञ पत्रकारहरु नेपालबाट युकेमा निम्त्याएको अवसरमा अन्तरक्रिया तथा तालिमहरु भईरहेको छ । त्यति मात्र नभई जन्मभूमि नेपालको तत्कालिन र हालको परिस्थितीको बारेमा पनि संचारको क्षेत्रबाट अहंम भूमिका निर्वाह गर्दै आईरहेको छ ।

युकेका न्यूजहरु मध्ये बिबिसीले झण्डै दुईतिहाई समेटदछ । यद्यपी धेरै पत्रिकाहरु विश्वब्यापी लोकप्रिय छ । पत्रिका विक्रि भन्दा विज्ञापनले धानिने, पालिने हो र सशुल्क अनलाईन सस्क्राइबर र युट्युव गुगलएड प्याकेजले मिडियाको भविश्य झनै आसलाग्दो छ । नयाँ प्रविधिमा मोडिन नसक्ने केही मिडियाहरु बन्दभए, केही नयाँ रुपमा उदाए । प्राप्त तथ्याङ अनुसार सन् २०१७ मा मात्र १० वटा पत्रिकाहरु शुरुवात भएका छन् । युकेको मिडिया सन्दर्भमा गजब चाहि युकेका अर्थमन्त्री अर्थात चान्सलर एक्सचेकर ओसवन एक पत्रिकाको सम्पादक बनेका छन् । लिबरल डेमोक्रेटिक पार्टीका तत्कालिन लोकप्रिय लिडर निक क्लेक पनि एक पत्रिकाको सम्पादक तथा स्तम्भकार बनेका छन । यसले पत्रकारिता क्षेत्र युकेमा कति सम्मानित छ छर्लङ्ग हुन्छ । यस्तो महत्वपूर्ण सम्मानित क्षेत्रलाई हामीले पनि सम्मानित बनाउने प्रतिज्ञा गरौं । यस एभरेष्ट टाइम्सको अर्को पटक सिल्भर जुब्लि उत्सव पनि मनाउन पाऔ भन्ने शुभेच्छा सहित दशौं बार्षिक उत्सवको सबैमा हार्दिक शुभ कामना ।

biswasdip@ymail.com
सम्पादकः नेपालीसमाचारडटकम


पूर्वअध्यक्षः फोनिज युके

ब्रेक्जिटले कता लैजादैछ ब्रिट्रिस र युरोपियनहरुलाई ? - विश्वास दीप तिगेला,

संयुक्त अधिराज्य (युके) यूरोपियन यूनियन (ईयू) मै रहने की बाहिरिने भन्ने जनमत संग्रहको अन्तिम परिणाम आउदा दुवै हात उठाएर तत्कालिन गृहमन्त्री टेरेजा मे खुसिले उफ्रिएकी थिइन् । त्यसपछि उनी आफै प्रधानमन्त्री हुने सौभाग्य मिल्यो । र, २३ जुन २०१६ मा भएको जनमत संग्रहको म्याण्डेटले अन्ततः २९ मार्च २०१८ का दिन युके ईयूबाट विधिवत बाहिरिने छ । ईयूबाट बाहिरिए पछि युकेको भविश्य कस्तो हुने र ईयूको भविश्य कस्तो हुने भन्ने चर्चा चुलिएको छ । उसो त ईयूबाट बाहिरिने विधेयक युकेको संसदबाट बहुमतले पास हुनुपर्छ, त्यो बाँकी छ । विधेयकमा देखिएको असन्तुष्टि र विभाजनले झनै ठूलो संकट थपेको महशुस हुन्छ । उक्त विधेयकलाई प्रम मे कै पार्टीका धेरै नेता र प्रतिपक्षहरुले सबैभन्दा लामो आत्मा समर्पणको नोट भनेका छन भने ईयूका २७ राष्ट्रले गत २५ नोभेम्बरमा सहमति जनाई सकेका छन् । र, उनीहरुले यो भन्दा अरु तलमाथि हुदैन र अर्को पटक शंसोधन पनि हुदैन भनेर स्पष्ट पारिसकेका छन् ।

अब प्रम मेले युकेको संसदबाट उक्त विधेयकलाई पास गराउनु पर्ने हुन्छ । उक्त विधेयक माथि मतदान डिसेम्बरको दोस्रो हप्ता भित्र हुनेछ । ६५० सांसद रहेको संसदमा पास गराउनको निम्ति केही सिटहरु खाली भएका कारण कम्तिमा ३२० जना साँसदहरुले मात्र पक्षमा मतदान गरेपुग्छ । विधेयक पास भएको खण्डमा विधिवत रुपमै युके ईयूबाट अलग हुनेछ भने युकेको निम्ति झनै ठूलो चुनौतीहरु थपिने देखिन्छ । यदि संसदबाट उक्त विधयेक पास नभएको खण्डमा प्रम मेले राजीनामा दिनपर्ने हुन्छ र काम चलाउ सरकार भई अर्को जनमत संग्रह वा विपक्षीको माग अनुसार संसदीय चुनाव गराउनु पर्ने हुन्छ वा उनीले राजीनामा नदिई नो डिल अर्थात कुनैपनि सम्झौता बेगर पारपाचुके गरि युकेलाई नेतृत्व गर्नेछिन् । प्रम मे को कार्यकाल सन् २०२२ सम्म छ ।
राष्ट्रब्यापी तेस्रो ठूलो पार्टीको हैसियत राख्ने लिबरल डेमोक्रेटले आफनो औपचारिक घोषणापत्रमै जनतालाई अन्तिम पटक आफ्नो मत जाहेर गर्न दोस्रो जनमत संग्रह हुनुपर्ने र युके ईयूमै रहनु पर्ने उल्लेख गरेको छ भने दोस्रो ठूलो दल लेबर पार्टीले उपलब्ध विकल्पमा जान सकिने सम्म भनेको छ तर दोस्रो जनमत संग्रहकै कुरा लेबर पार्टीको घोषणापत्रमा छैन । गजब चाहि प्रतिपक्ष लेबर पार्टी र सत्तापक्ष कन्जरभेटिवका अंधिकाश सांसद, नेता कार्यकर्ताहरु युके ईयूमै रहनु पर्ने माग गरिरहेका छन् । हिजो बाहिरिनु पर्छ भनेर मतदान गर्नेहरु अब ईयूमै रहनुपर्ने माग गरिरहेका छन् । तर, संयोग चाहि दुबै ठूला पार्टीका नेता कार्यकर्ताहरु विभाजित छन् । यहि ईयूका मुद्धालाई केन्द्रविन्दु बनाएर छुट्टै शक्ति बनाउने की भनेर पूर्व प्रधानमन्त्री टोनी ब्लेयर काम गरिरहेको पनि बताईन्छ । उसो त ब्लेयर पुनः लेबर पार्टीको नेतृत्वमा फर्कने कुराको पनि चर्चा छ । ब्लेयरले प्रम दुई कार्यकाल गरेपनि बर्तमान लेबरका नेता जेर्मी कोर्विन भन्दा दुई बर्ष कान्छा छन र जेठो कोर्विनमा करेस्मेटिक गुण देखिन्दैन ।

ईयूबाट युके विधिवत छुटेपछि । विधिवत ब्रिट्रीस शक्तिमा समेत ह्रास आउने देखिन्छ । यसका धेरै आयामहरु छन् । ब्रिट्रिस जनताले चाहेअनुसार मैले ब्रेक्जिटलाई कार्यान्वयन गर्दैछु भन्ने प्रम मेको भनाई पूर्ण सहि होइन । ब्रेक्जिट जनमत संग्रहमा बहूमतले स्कटल्याण्ड र नोर्दन आयरल्याण्डवासीले ईयूमै रहनु पर्छ भन्नेमा मतदान गरेका थिए यद्यपी धेरै जनसंख्या भएको इंग्ल्याण्डको अत्यधिक मतदाताहरुले बाहिरिनु पर्ने पक्षमा मतदान गरेको कारण झिनो मतले बाहिरिनु पर्नेमा परिणाम आएको हो । स्कटल्याण्ड र नोर्दन आयरल्याण्डका जनता बेक्जिटको विपक्षमा मत जाहेर गरेको कारण प्रम मे ले ब्रिट्रिस जनताले चाहेको कारण भन्नु पूर्ण सहि होइन । स्कटल्याण्ड स्वतन्त्र हुने वा नहुने भन्ने स्कटिस जनमत संग्रह २०१४ मा युके भित्रै रहने भन्ने परिणामको प्रतिवाद स्वरुप युकेको संसदीय चुनावमा स्कटल्याण्ड छुट्टै राज्य हुनुपर्छ भन्ने माग राख्ने स्कटिस नेशनल पार्टीले ५७ सिट ल्यायो र युके ईयूमै रहनु पर्छ भन्नेमा दबाब दियो । युकेबाट स्कटल्याण्ड अलग्गिनुपर्ने माग अघि निरन्तर अघि बढाई रहेको छ । प्रम मे ले सन् २०१७ मा स्न्याप जेनेरल इलेक्सन अर्थात मध्यावधि चुनाव गराउदा समेत केही सिट घटे पनि स्कटिस नेसनल पार्टीको बहूमत कायमै छ । युके ईयूमा रहदा स्कटल्याण्ड छुट्ने सम्भावना न्यून छ भने ईयूबाट युके छुटने वित्तिकै स्कटल्याण्ड पनि युकेबाट छुटने सम्भावना प्रबल छ । जिब्राल्टार, साइप्रस र फोक्ल्याण्ड आइल्याण्डको सवालहरु पनि एकपछि अर्को गर्दै आईरहेको छन् । अन्ततः कुनैवेला पृथ्वीको २५ प्रतिशत भूभागमा साम्राज्य फैलाएको ब्रिट्रिसहरु इंग्ल्याण्ड र वेल्समै सिमित हुने सम्भावना देखिन्छ । नयाँ पुस्ताहरु अवसर र खुल्ला ब्यापारको निम्ति ईयूमा रहनुपर्ने सोच राख्दछन त्यसैले यदि दोस्रो जनमत संग्रह भएको खण्डमा युके ईयुमै रहनुपर्छ भन्ने पक्षमा परिणाम आउने सम्भावना छ । यसपटक युके बाहिरिएर भविश्यमा पुनः ईयूको सदस्यता लिन युकेले आवेदन दिएको खण्डमा युकेको मापदण्ड पुग्न नसक्ने विज्ञहरुको तर्क छ । मापदण्ड नपुगेकै कारण टर्कीले ईयुको सदस्यता प्राप्त गर्न सकेको छैन ।

ईयूको सवालमा अमेरिका र रसियाको सवाल पनि जोडन पर्नेहुन्छ भलै यस विषयमा चर्चा हुदैन । दोस्रो विश्वयुद्ध लगतै यूरोपको पूर्ननिर्माण तथा शक्तिशाली रसियाको विरुद्धमा दिर्घकालिन मोर्चा बनाउन अमेरिकाले मासहल प्लान (१९४८¬–१९५१) अन्तर्गत १३ विलियन डलर खर्च गरी अन्ततः पेरिसमा कोल्ड एण्ड स्टील कम्युनिटी (इसिएससि) १८ अप्रिल १९५१ मा स्थापना भयो । त्यसबेला युकेको आर्थिक बृद्धि ईयू भन्दा ९८ प्रतिशत उच्च थियो । उक्त संगठन निर्माण भएको दुई दशक पछि युकेले सदस्यता लियो त्यो बेला युकेको आर्थिक दर ईयू भन्दा ८ प्रतिशत तल पुगेको अवस्था तथ्याङ्कले देखाउछ । सिर्फ २० बर्षमा युकेको आर्थिक स्थिती अत्यन्तै नकरात्मक अवस्थामा पुगेको पाइन्छ । सन् १९६१ मा पहिलो पटक, सन् १९६३ मा दोस्रो पटक र सन् १९६७ मा तेस्रो पटक सदस्यता पाँउ भनी आवेदन हालेको मध्ये पहिलो र दोस्रो पटक तत्कालिन फ्रेन्च राष्ट्रपति चाल्स दि गौलेले युके ईयुको निम्ति उपयुक्त छैन भन्ने दावी सहित भिटो प्रयोग गरि सदस्यता दिनबाट रोक्यो भने उनले फेन्चको राष्ट्रपति पदबाट सन् १९६९ मा राजिनामा गरेलगतै विचराधिन रहेको तेस्रो आवेदनलाई प्रकृयामा लगेर १ जनवरी १९७३ मा युकेलाई ईयूको सदस्यता प्रदान गरयो । र सदस्यता प्राप्त गरिसकेपछि युकेले ईयूमा रहने की नरहने भन्ने बारेमा जनमत संग्रह सन् १९७५ मा गरायो । जब की युकेले सदस्यता प्राप्त गरिसकेको थियो । र, ६७.२ प्रतिशतले ईयूमै रहने भन्ने पक्षमा मतदान गरे । त्यसबेला युकेको आर्थिक स्थिती अत्यन्तै कठिन अवस्थामा थियो र केही विज्ञहरु तर्क राख्छन त्यो बेला युकेको कर्मचारीहरुलाई तलब दिन, आर्थिक रुपबाट देशलाई बचाउनको निम्ति युकेले ईयुको सदस्यता लिन बाँध्य हुनुपरेको थियो । ईयुको सदस्यता लिए संगै युकेको आर्थिक स्थिती सन्तुलित र संमृद्ध भएको पाईन्छ । विशेष गरेर दोस्रो विश्व युद्धले सबैभन्दा धेरै असर ब्रिट्रिस सामाज्यलाई परेको र स्वीस क्यानलको विवाद सन् १९५६ मा आईपुग्दा ब्र्रिट्रिस सामाज्य अन्त भएको महशुस संगै युकेले धेरै उतारचढाव ब्यहार्दै आएको छ ।

युकेमा प्रचलनमा रहेका कानुनहरु मध्ये ६२ प्रतिशत ईयू कानुनहरु छन् । ईयूका कानुनहरु मध्ये १९ हजार कानुनलाई ब्रिट्रिस कानुनमा रुपान्तर दुईबर्षभित्र गरिसक्न ३३ हजार विज्ञहरु भर्ति गर्नुपर्ने अनुमान पनि बाहिर आएका थिए । उसो त युकेले प्रत्येक बर्ष लगभग १३.१ विलियन पाउण्ड (२०१६) ईयू बजेटको लागि दिएको देखिए पनि प्रत्येक बर्ष ८ विलियन पाउण्ड अर्थात प्रतिहप्ता एकसय पैत्तिस मिलियन तिर्ने गर्दछ तर ती रकम युकेका किसानहरुलाई अनुदान र वैज्ञानिक अनुसन्धानको नामबाट युकेमै आउने गर्दछ । जनमत पूर्व प्रतिहप्ता ३ सय पचास मिलियन ईयूलाई दिनको सट्टा राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) लाई दिने भन्ने नारा चलाएको कारण मुख्य अभियानकर्ता बोरिस जोन्सनलाई युकेको तथ्याङ विभागले गलत शंन्देश नदिन भनी पत्र लेखेको थियो । यहि गलत प्रचारप्रसारको कारण पनि जोन्सनलाई हाँसोको पात्र बनाएका थिए । अहिलेको अत्यन्तै जटिल परिस्थितीमा नो डिल अर्थात कुनैपनि सम्झौता बेगर पारपाचुके भएको खण्डमा ईयूलाई तिर्नपर्ने ३९ विलियन पाउण्ड समेत तिर्न बाँध्यकारी हुने छैनन् ।

यस बर्ष सन् २०१८ मा विश्वको पाचौं ठूलो आर्थिक मुलुक युके भएकोले पनि ब्रिट्रीस जनतामा आत्मा निर्भर हुन सकिन्छ भन्ने आत्माविश्वास जागेको हुनुपर्छ तर ख्याल गर्नुपर्ने कुरा के हो भने विश्वको चौथो ठूलो आर्थिक भएको जर्मनी र सातौं ठूलो आर्थिक भएको मुलुक फ्रान्स हो र आठौ ठूलो आर्थिक भएको मुलुक इटाली चाहि ईयू भित्र छन् । सामान्यतया युकेका जनता संग अहिले दुई विकल्पहरु छन् । आर्थिक संमृद्धि पछ्याएर ईयूमै रहि आफ्नो भूमि आप्रवासीहरुलाई अतिक्रमण गर्नदिने की? बरु आर्थिकरुपबाट गरिबै भएपनि आफ्नो भूमि जोगाउने भन्ने हो । अहिले प्रम मे जोखिम मोलेरै भएपनि संमृद्धि भन्दा भूमि र स्वशासन फर्काउने अभियानमा रहेकी देखिन्छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प आप्रवासीहरु प्रति अनुदार देखिनु र प्रम मेको ब्रेक्जिट थ्रु गराउने जोडदार पहलकदमी उस्तै देखिन्छ ।

ईयूले युकेलाई सधै अक्कडो साथी भन्ने गरेको छ । संयोग कस्तो भने लामो समयदेखि ईयु पार्लियामेन्टमा नाइजल फराज साँसद छन र पार्लियामेन्टमा उनको गैर मर्यादित हर्कत पनि मननयोग्य छ । ईयूको स्थापना काल, सदस्यता दिने समय र सदस्य भईसकेपछि पनि सबैभन्दा बढि समस्याहरु ओकल्ने युके नै भएकोले सामरिक हिसाबबाट ईयुलाई युके चाहिएको हुनुपर्छ तर ईयु बनाउने सवालमा युकेको भूमिका अत्यन्तै कम र नकरात्मक भएकोले पनि बढार्नुपर्ने कसिंगर हावाले उडाएको पनि हुन सक्दछ ‘बेक्जिट’ अर्थात यूरोपियन युनियनबाट युके बाहिरिने काम । त्यसैले पनि सहज रुपबाट विदाई गर्न लालयित छ ईयू भन्ने अनुमान गर्न सकिन्छ, तर पुरस्कृत गर्ने पक्षमा भने छैन । किन की ईयूको विपक्षमा फ्रान्स र जर्मनीका जनताहरुको आवाज चर्को छ । ईयूको संस्थापक मध्येका एक इटाली आर्थिक संकटमा फसेको अवस्था छ । यसले ईयू स्वयंको पनि भविश्य अनिश्चित देखाउछ । ईयूबाट छुटेको मुलुक संमृद्धिमा गए अन्य बाँकी राष्ट्रहरुले पनि त्यहि बाटो पछ्याउन सक्ने सम्भावना प्रति पनि ईयू संचेत हुनुपर्छ । त्यसैले युकेलाई दण्ड वा पुरस्कृत नगरि सहज विदाईमा लागेको देखिन्छ ।

सन १९५१ कोल्ड एण्ड स्टील कम्युनिटी, सन् १९५७ मा यूरोपियन इकोनमिक कम्युनिटी, सन् १९६५ मा यूरोपियन कम्युनिटी, सन् १९८६ मा यूरोपियन पोलिटिकल कोअपरेसन र सन् १९९२ मा नेदरल्याण्डको मासट्रिस भन्ने ठाँउमा भएको भेलाले यस अघिका सबै अंगहरुलाई गाभेर ट्रिटी अफ युरोपियन युनियन नामाकरण भयो त्यसैको रुप नै अहिलेको यूरोपियन यूनियन हो । यहा गजबको कुरा के हो भने मास्सट्रिच टिट्री अर्थात अहिलेको शक्तिशाली ईयूको संरचनाको पूर्नउत्थानकर्ता पूर्वी जर्मनीका भूतपूर्व सेना कमाण्डर हुन । जो दोस्रो विश्व युद्ध र शित युद्धमा रसियाबाट पिडित बनेका थिए । यसर्थ पनि ईयूलाई वैभवशाली रसियाबाट आक्रमण वा हस्तक्षेप हुनसक्ने सम्भावनाको विरुद्धमा भएको एउटा मोर्चा हो भन्न सकिन्छ । रसिया संग सिमाना जोडिएका पूर्वी यूरोपका लगभग सबै मुलुकहरु ईयूमा गाँभिएका छन् । कतिले ईयूलाई किश्चियानिटी क्लव पनि भन्ने गरेका छन् । त्यसैले ईस्लाम मुलुक टर्कीलाई सदस्यता नदिएको तर्क गर्छन । रसियाबाट पूर्वी यूरोपका केही मुलुक छिचोले पछि मात्र सानो टापु युके आउछ । अर्थात रसियाको आक्रमण वा अतिक्रमणको सम्भावना पूर्वी यूरोपका मुलुकहरुको तुलनामा युकेलाई कम छ । त्यसैले पनि ईयूबाट यूके छुटन चाहेको हुनसक्दछ । बाहिरी आक्रमणको डरले ससाना राज्यहरु एकजुट भएर स्वीजरल्याण्ड बनेको इतिहास छ । पूर्ववती औपनिवेसिक ब्रिट्रीसको आक्रमण हुनसक्ने डरले अमेरिकाका दर्जनौ राज्यहरु एकजुट बनेर संयुक्त राज्य अमेरिका बनेको इतिहास पनि छ । त्यस्तै बेल्जियम पनि बाहिरी आक्रमणको डरले एकृकित बनेको ईतिहास संग ईयू गठन र संचालनको पनि इतिहास मिल्न गएको छ । यद्यपी ब्यापार र संमृद्धिको निम्ति मात्र ईयू निर्माण भएको बहस पाइन्छ ।

अन्तमा, इतिहासको विरासत ठूलो हुन्छ यद्यपी इतिहासका ठूठूला साम्राज्यहरु टुक्रन्दैटुकन्दै अस्थित्वहिन बनेका इतिहासहरु पनि ताजै छन् । त्यसैले लोकआधुनिक समय बगेको दिशा भन्दा ठिक विपरित बहनुले युकेलाई कता लैजान्छ हेर्न बाँकी छ । सहअस्थित्व र संघीय ढाँचामा अघि बढिरहेको यूरोपियन युनियन (संघ) बाट बाहिरिए पनि युके युरोप कै भूगोलमा रहनेछ । बोर्डरलेस वल्ड अर्थात कस्मोपोलिटिन विश्व बनि रहेको बेला प्रम मे विपरित दिशामा कतिसम्म बहन सक्छन त्यो पनि हेर्न बाँकी छ । र, ईयु कमिसनका प्रेसिडेण्ट जिनकलाउड जंकरले भने झै ब्रेक्जिट युकेको हितमा छैन र ईयूको हितमा पनि छैन तर यो ब्रिट्रीस जनताको रोजाई हो । दुवै पक्षको संमृद्धि र प्रगतिको कामना सहित ।

२७ नोभेम्बर २०१८, आसफोर्ड


(लेखक क्यान्टवरी सिसि युनिभर्सिटीमा राजनीति र युरोप विषयमा अध्ययनरत छन् ।)

Wednesday, January 7, 2015

यसर्थ चुम्लुङको माया लाग्छ

वि.स. २०४६ भाद्र १७ गते त्रिभुवन विश्वविद्यालयका केही लिम्बु विद्यार्थीहरुले शुरु गरेका किरात याक्थुङ चुम्लुङ विस्तारै समग्र लिम्बु जातिको साझा संस्थाको रुपमा विकसित भयो । वि.स. ४७/४८ को कुरा हो जिल्ला जिल्लामा पनि विस्तार भयो र त्यसपछि गाँउगाँउमा पनि यसको विस्तार भयो । म त्यसवेला ९ कक्षामा पढथे । म हात्तिखर्क गाविस चुम्लुङ इकाइको सचिव चुनिए । म आफै साइनबोर्ड पनि कोर्न मनपराउने भएकोले किरात याक्थुङ चुम्लुङ हात्तिखर्क गाविस समितिको कार्यालय भन्ने साइनबोर्ड निलो पृष्ठभूमिमा सेतो अक्षरले लेखे त्यो साइनबोर्ड अझै पनि पंचमीको प्रेम मादेनको घरमा राम्रै अवस्था देखिन्छ ।

नीलो कपडामा सिलामसाक्माको सेतो रोगनले नक्सा कोरेर झण्डाको रुपमा चलायौ । त्यो बेला मेरो छिमेकी स्व. लोकेन्द्र बहादुर तिगेला दाजु जिल्ला समितिमा हुनुहुन्थ्यो । र, गाँउमा चाहि साहै सजिला सहयोगि मध्ये हुकुम प्रसाद मादेनको सम्झना आउछ । हामीले माघ १ गते किरात नयाँ बर्षको पहिलो दिन भनेर कार्यक्रमको आयोजना गरयौ । म साम्माङ युवा क्लबको अध्यक्ष र सप्तरंगी साप्ताहिक साँझको संयोजक भएकोले नाच्ने नानीहरुलाई उक्त नयाँ बर्षको दिन पनि नचाए । त्यो कार्यक्रममा शेखर आलेमगरले अतिथिको रुपमा बोल्नुभयो । राजा यलम्बरले राज्य शुरु गरेको पहिलो दिनको कारणले होला यो माघ १ गते नयाँ बर्ष मनाइएको वहाले तर्क राख्नुभयो । मलाई त्यो गजब लाग्यो खोइ किन हो मैले राजा यलम्बरको बारेमा सुनेको रहेनछु । त्यति चाहि अहिले सम्म सम्झना छ ।

केही बर्षपछि लोकेन्द्र दाजु किरात याक्थुङ चुम्लुङ जिल्लाको अध्यक्ष र किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला समितिको पनि अध्यक्ष हुनु भएको बेला हात्तिखर्कबाट धनकुटा सदरमुकाम आएर चुम्लुङको बैठक बसेर चुम्लुङ केन्द्रलाई पत्र लेख्ने निर्णय गरयौ र मैले सहसचिवको हैसियतले लेखेः चुम्लुङ केन्द्रले किरात धर्मलाई याक्थुङबाहरुको धर्म हो भनी घोषणा गरियोस र चाडवार्डको तिथिमिति साहित्य उत्थान संघ र चुम्लुङको एउटैहोस नत्र हामी बहिष्कार गर्छौ भन्ने धम्किपूर्ण थियो । त्यहि ब्यहोराको चिठ्ठि २ वर्षमा दुई पटक लेख्यौ, लेखे । जिल्ला सचिव नरप्रसाद चेम्जोङ र केन्द्रमा मंजुल याक्थुम्बा अध्यक्ष हुनुहुन्थ्यो । त्यसको लगतै मैले धनकुटा बहूमुखि क्याम्पसमा कानुनको विधार्थी भई अध्ययन शुरु गरे । त्यो बेला नेपाल स्वतन्त्र विद्यार्थी मोर्चाको जिल्ला सभापति र पूर्वाचल उपाध्यक्ष थिए । पूर्वान्चल अध्यक्ष धरानका योगेन्द्र पालुङवा थिए । मैले क्याम्पसमा पनि चुम्लुङ इकाइ निर्माणको लागि सोधिखोजि शुरु गरे र पढाइमा सिनीयर ज्ञान पारघारी अध्यक्ष र म सचिव रहेको समिति तयार भयो र फक्तालुङ नामक भित्ते पत्रिका प्रकाशन शुरु गरयौ ।

वि.स. २०४९ मा एसएलसि दिए लगतै १५ दिन काठमाडौ घुम्न आउदा नेपाल आदिवासी जनजाति महासंघका नेता झयाप्प कपाल पाल्नु भएका सुरेस आलेमगर र पर्शुराम तामाङलाई अफिसमै गएर भेटे । त्यो बेला महासङ्घको कार्यालय पुरानो बसपार्क अगाडिको घरको एकतला माथि थियो । फर्किएर धनकुटामा पुगेर क्याम्पस शुरु गरेको केही महिना पछि सम्भवतः नेपालको इतिहासमै पहिलो नेपाल आदिवासी जनजाति महासघं, क्याम्पस इकाई समिति गठन गरयौ र त्यसको संयोजक म थिए । सहसयोजकमा गणेश गोङबा थिए । उक्त समितिमा मगर विद्यार्थी संघ, तामाङ, राई विद्यार्थी लगायत ५ विद्यार्थी संगठनहरु आबद्ध थिए । ठिक त्यसै बेला एकाबिहानै रेडियोबाट संस्कृतिमा समाचार शुरुभयो त्यसैले विरोध स्वरुप कार्यक्रम गरि रेडियो जलाइयो । संस्कृत पठनपाठनको विरोधमा पुस्तक जलाइयो । धरानको साकेला नाच्ने ठाँउ अस्पताल बनाउन भत्काइदिए बापत भानुचोक भत्काउन तम्तयार भयौ त्यसको नेतृत्व धनकुटाबाट मैले गरेको थिए । त्यो बेला मेरो पत्रकारिता पनि शुरुभईससकेको थियो । यति सम्म की क्याम्पसको सर्बदलिय बैठकमा म वा मेरो  संगठनको उपस्थिती विना बैठकले कुनै निर्णय गर्न मिल्दैनथियो ।

छिमेकी दाजु शिव कुमार सर लिम्बु भाषा लिपी सम्बन्धि गोष्ठि तथा प्रशिक्षण तालिमको लागि धरान आउनु भई तालिम पुरागरेपछि  गाँउमा पठन पाठन शुरुभयो । वहाको सहप्रशिक्षक म थिए । बेलुकीबेलुकी पेट्रोलमेक्स बालेर तिनचार महिनाको कोर्ष दुईतिन बर्ष नियमित पठन पाठन गरायौ । तत्कालिन चुम्लुङ केन्द्रका सचिव नरप्रसाद लुम्फूवा निरिक्षणलाई पनि आउनु भएको थियो । वहा धनकुटा आउनु भएको वेला मेरैमा बस्नुभयो क्याम्पसमा पनि चुम्लुङ विद्यार्थी साथिहरु संग साक्षात्कार कार्यक्रम गरियो । त्यो बेला हामीलाई किरात लिपी भएको बि. बि. सुब्बा नुगो सिक्किमले लेखेको रातो गाता भएको १ प्रति मात्र पुस्तक थियो । हाम्रा विद्यार्थीका लागि
पुस्तकहरु नै थिएन्न त्यसैले लिथो मेसिनबाट १५० प्रति बनाएर वि.स. २०५/१५/१ मा बाँडेको पनि थिए । त्यो पुस्तकको केही प्रति अझै कहिकतै पाइन्छन् । चुम्लुङ केन्द्रको आयोजनामा सम्पन्न एक गोष्ठिले किरात लिपीलाई किरात सिरिजङ्गा लिपी भन्ने र लिम्बु भाषाका प्रयोग नहुने ११ वटा (श, ट, ड, त्र, झ, ठ, ण, ज्ञ, ञ, ढ ष) ब्यन्जनबर्ण र ३ वटा बाह्रखरी (की, कू, कं) लाई पनि हटाएको थियो । ब्यपाक विरोध भएको कारण पछाडि पुनः प्रचलनमा ल्याइएको छ ।

समय महिना बर्ष बित्दै गयो र विश्व आदिवासी दिवस सबैभन्दा पहिला सन् १९९५ मा जेनेभा गई फर्कनु भएका दुर्गा लिंखालाई नै धनकुटाको आदिवासी दिवसको संयोजक बनायौ । त्यो वेला रकम चेम्जोङ र गोपाल गुरागाई माननीय सांसद हुनुहुन्थ्यो । धनकुटा बजारको त्रिवेणी विद्यालयमा बसेको बैठकको संचालन सान्त समालले गर्नुभएको थियो । उक्त विश्व आदिवासी समारोहको लागि नरप्रसाद चेम्जोङ दाइ र म पैसा सहयोग माग्न धनकुटाको बजारमा निक्कै दुःख गरेर हिड्यौ ।

मलाई नयाँनयाँ कुरा सिक्न औधि रहर थियो र मलाई घरबाट छुट पनि थियो । विद्यालयको बैठकमा बुबालाई चिठ्ठि काटिएको हुन्थ्यो बुबाले मलाई नै तँ जा भनेर म सानो कलिलोलाई नै पठाउनु हुन्थ्यो । म त्यो वेला समाजसेवा र राजनीति भनेपछि सबथोक बिर्षन्थे । त्यो वेला कुङपी पत्रिका, कइरन पत्रिका, नेपालको राजनीतिमा अदेख्खा सच्चाई गोपाल गुरुङको पुस्तक, नेपालमा जातिय मुक्ति आन्दोलन गोपाल खम्बुको पुस्तक, किरातबारे ३ कुरा पेशल राईको पुस्तक दोहोर्याई दोहोर्याई पढेको थिए । मलाई तिनै पुस्तक र पत्रिकाहरुले यो क्षेत्रमा आकर्षण गरयो । वि.स. २०५० मा हुनुपर्छ धनकुटा जिल्लाको किरात धर्म तथा साहित्य उत्थान संघको तर्फबाट जितमान सिं तिगेला दाजु, रणवीर माङयाक बाजे र म हात्तिलेदा, इलाममा धर्मगुरु आत्मानन्दको दर्शन गर्न पनि मंसिर महिनामा गएको थिए ।

वि.स. २०५२ मा म युके भित्रिए । यद्यपी, म चुम्लुङ पदाधिकारी थिए । पहिलो छुटटी २०५४ मा हुनुपर्छ इलाममा सम्पन्न चौथो महाधिवेशनमा धनकुटा चुम्लुङको तर्फबाट म पर्यवेक्षक थिए । पूर्व अर्थराज्य मन्त्री हरीराज खेवा धनकुटा चुम्लुङको सचिव हुनुहुन्थ्यो । त्यो महाधिवेशनले मन्जुल याक्थुङवालाई पुनः अर्को कार्यकाल थपिदियो र सबैभन्दा महत्वपूर्ण कुरा लिम्बु जातिको धर्म किरात हो भनेर घोषणा गरयो । त्यो उपलब्धि मेरो पनि हो भन्ने लाग्यो । त्यहि बेला नै मलाई नरप्रसाद चेम्जोङ दाईले किरात याक्थुङ चुम्लुङ, नेपालको आजीवन सदस्यताको ठूलो प्रमाणपत्र प्रदान गर्नुभएको थियो । त्यसको केही महिना अघि नै रु १ हजार रुपैया शुल्क बुझाई सकेको थिए ।

वि.स. २०६१/६२ तिर हुनुपर्छ म वेभसाइट डिजाइन सिकिसकेको थिए । र, नेपाल छुटिट गएको बेला चुम्लुङ अफिस महालक्ष्मीस्थान, ललितपुरमा गई चुम्लुङ अध्यक्ष अर्जुन नुगो सरलाई अब चुम्लुङको वेभसाइट बनाउनु पर्छ भनेर आग्रह गरे । तब मलाई नै जिम्मा दिनुभयो र १५ दिन लगाएर चुम्लुङको वेभसाइट डिजाइन गरि अपलोड गरियो । मलाई सिर्जना सुब्बाले सहयोग गर्नुभएको थियो । त्यो पहिलो बर्ष ५० एमबि होष्टिङ वापत ७ हजार २ सय रुपैया मर्कन्टाइलमा तिरयौ । त्यसपश्चात भने लगभग ११ बर्ष भयोहोला अहिले सम्म चुम्लुङको वेव होष्टिङ, डोमेनको पैसा तिर्नुपरेको छैन मैले समग्रमा अन्य वेभसाइटको तिर्दा त्यसको पनि तिर्दै आएको छु । चुम्लुङ केन्द्रले त्यसको लागि आभार ब्यक्त पनि गर्दै आएको छ । उक्त चुम्लुङको वेभसाइटको सिक्किमबाट पाल्नु भएका पाहुना पदमसिं मुरिङला ज्यूले २०५९ मा चुम्लुङ अफिसमा एक समारोहमा उद्घाटन गर्नुभएको थियो ।

आफ्नो जातिको इतिहास खोज्नेक्रममा सिक्किम गान्तोक, कालिम्पोङ, गेजिङ, सोरेङ, दार्जिलिङका विभिन्न ठाँउहरुमा गएर ‘अपतन’ नेपाली साहित्य तथा लिम्बु साहित्यको इतिहास रहेको ‘मृद्धुल पदम‘ बृत्तचित्र पनि म स्वयं निर्माता रहि चुम्लुङको अभियानमा सरिक बने ।

होष्टिङ, डोमेन र वेभडिजाइन बेग्लाबेग्लै कुरा हुन । लगभग ३ बर्षअघि नयाँ अनुहारको वेभडिजाइन चाहियो भनेपछि मेरो मित्र सुरेन्द्र इङनामले रु २५ हजार तिरिदिएर प्रवेश सुवेदी जीले बनाईदिनु भएको हो अहिले प्रयोगमा रहेको नेपाल चुम्लुङको वेभसाइट । जुन वेला चुम्लुङको वेभसाइट शुरुवात गरिएको थियो त्यसवेला अन्य जातिको त के कुरा नेपालबाट चल्ने वेभसाइट नै दुइचारवटा मात्र थिए ।

सानै देखि, लामो समय देखि काम गर्दै आएको कारणले होला चुम्लुङको गाँउ इकाइमा, जिल्ला समितिमा, केन्द्रमा र काठमाडौको नयाँवासी भएकोले काठमाडौ जिल्ला चुम्लुङमा त्यतिले मात्र भएन अब युकेमा पनि नियमित बेला मौकामा शुल्क तिर्नुपर्ने अवस्था साच्चै नै रोचक छ ।

युके चुम्लुङ सन् २००३ बाट शुरु भएको हो । चुम्लुङको दोस्रो कार्यकालको अध्यक्ष सिरिप्रसाद लिम्बु हुनुहुन्थ्यो । बहाको पालामा चुम्लुङको कागजपत्र बनाउन मैले सहयोग गर्नुपथ्र्यो । त्यो वेला चुम्लुङ साच्चै सुन्दर र सन्तुलित थियो ।

प्रवासी नेपाली साहित्य समाजको एक ठूलो कार्यक्रम थियो । सर्नकिल्फ कम्युनिटी हलमा जुन कार्यक्रम विहानको साढे ५ बजे सिद्धिएको थियो । त्यसबेला म त्यहि ५९ मेकान्जि ड्राइभमा बस्ने भएकोले टंक बनेम, भरुपल चोङवाङ, मिजास तेम्बे मेरै घरमा सुत्नुभयो । विहान खाना लिन शुरु गरयौ तब मलाई टंक दाईको लिम्बु भाषाको ज्ञानको लोभ भयो र खाना लिदै गर्दा प्याट्ट एउटा प्रस्ताव राखेः होइन एउटा लिम्बु भाषाको पत्रिका झिकौ तपाईहरु के भन्नुहुन्छ भनेर प्रस्ताव राखे तब सबैले ल हुन्छ गरौ भन्नेमा सहमति भयो । नामको बारे पनि चर्चा भयो यो गोराको देशलाई के भनिन्छ लिम्बु भाषामा टंक दाईलाई मेरो प्रश्न थपियो । अब पत्रिका झिक्ने चाहि सहमति भयो अब पैसा चाहि कसरी जुटाउने ? अन्ततः त्यो वेला चुम्लुङ अध्यक्ष संग नजिक भई काम गरिरहेको कारण लौ एकपटक चुम्लुङलाई सोधौ न त भन्ने सहमति भयो । र, केही दिनपछि म कोसभो गए र त्यहिबाट टंक दाई, अन्य साथिहरु र चुम्लुङ अध्यक्ष अनि नेपालका अमर तुम्याहाँङ संग सम्पर्क गरि अन्ततः चुम्लुङको मुखपत्रको रुपमा मिक्फूला लाजे पहिलो अंक प्रकाशित भयो ।
त्यहिवेला चुम्लुङ युकेको वेभसाइट चुम्लुङयुकेडटकम धेरैदिन दुःख गरेर बनाई दिए । सबैकुराको नयाँ डिजाइन र सबैकुरा खोज्नुपर्ने भएकोले निक्कै समय लाग्यो । युके चुम्लुङको वेभहोष्टिङ र डोमेन वापत एकपटक डम्बर सिंगकको अध्यक्षतामा र अर्को पटक गरि दुईपटक युके चुम्लुङले केही पैसा पनि दियो । आफ्नै संस्था माग्न पनि अप्ठयारो । म २००९ मा ब्रुनाई गए त्यसपछि युकेमा पनि शाखाहरु बन्न शुरुभयो । पूर्व अध्यक्ष सुवास जवेगु दाईको पालामा विगत ६/७ बर्षदेखि चल्दै आएको वेभ डोमेन हुदाहुदैपनि जानकारी नै वेगर चुम्लुङयुके अर्ग शुरु गर्नुभएछ । वेभ र होष्टिङको लागि प्रत्येक दिन सानो शुल्क तिरी राख्नुपर्छ । बर्षबर्षको तिर्ने प्रावधान भएकोले हाम्रै चुम्लुङको हो भनेर रिन्यू गरिदिदै गए तर यता चुम्लुङलाई भने कुनै वास्तै भएन क्यारे । हुन त लिम्बु लाइब्रेरीडटअर्गडटएनपी पनि विगत ८ नौ बर्ष शित्तैमा चल्यो पनि तर त्यसबाट केही धन्यवादका शब्दहरु त आए तर चुम्लुङ युकेबाट त्यो अपेक्षा पनि हुनेकुरो भएन । सुवास जवेगुले जिम्मेवारी लिने बेला उक्त वेभसाइटलाई विजय लिङदेन जीले अपटुडेट गर्नेगर्नुहुन्थ्यो । सायद निशुल्क कसैबाट प्रायोजन भएको कारण हस्तान्तर गर्न विर्षिएको पनि हुन सक्दछ ।

अहिले बेलाबेला युके चुम्लुङमा एउटा आवाज उठ्ने गर्छ र त्यो सहि हो यद्यपी त्यसले मलाई पनि पो छुदैछ की लाग्छ । युके केन्द्रीय समितिमा काम गर्न शाखामा काम गरेको हुनुपर्छ भन्ने हो । यो आफैमा राम्रो आवाज हो । तर मेरो सवालमा चाहि म के बुझौ ? लगभग २४ बर्ष भयो चुम्लुङको नियमित स्याहारसुसार गरेको फेरी युके चुम्लुङको शाखामा शुरुवात गर्नुपर्छ भन्ने एकप्रकार आग्रह छ । जुनबेला युके चुम्लुङको स्थापनाको सेरोफेरो रातदिन नभनी काम गर्न परयो । म ब्रुनाई गएपछि शाखा बन्ने ब्यवस्था भयो । संजोक के भयो भने शुरुवाति समयमा लिम्बु हामी थोरै थियौ । शाखाहरु बन्नै दिइएन त्यो बेला । त्यहि शाखा बन्न नदिएको नासो हो लण्डन चुम्लुङको विवाद अझै त्यो छदैछ । चुम्लुङमा धेरै नयाँ अनुहार आइसक्नु भएपछि म पनि बु्रनाईबाट फर्किए त्यसैले हो चुम्लुङमा म अझै नौलो देखिएको छु ।

एउटा महत्वपूर्ण कुरा के भने मैले चुम्लुङमा काम गरेको लगभग २४ बर्ष भएछ । किरात याक्थुङ चुम्लुङ समाज कल्याण परिषदमा २०५० कै सेरोफेरोमा दर्ता भएको छ । युकेमा झण्डै एकदशक पछि हुबहु नामबाट सन् २००३ मा विधिवत चुम्लुङको स्थापना भएको हो । यहा रोचक पक्ष के छ भने नेपालमा किरात याक्थुङ चुम्लुङ नामको ब्राण्ड सबै लिम्बुको साझा संस्था हो भन्ने बनेपछि त्यहि ब्राण्डको कारण युकेमा पनि यो चुम्लुङ चलेको हो । नेपाल चुम्लुङ कै लोगो, नेपाल चुम्लुङ कै अवधारणा लिने तर नेपाल चुम्लुङमा दिएको योगदानको मान्यता चाहि युके चुम्लुङले दिने की नदिने ? यदि दिने हो भने नेपाल चुम्लुङमा अति महत्वपूर्ण योगदान दिने याक्थुङ्बाहरुलाई खोइ स्थान ? ललितपुरको विशाल चुम्लुङहिम बनाउने र धरानको भब्य चुम्लुङहिम बनाउन योगदान गर्नेहरु युकेमै हुनुहुन्छ खोई वहाहरुलाई सम्मान ? यदि नेपाल चुम्लुङको स्वामित्व नलिने हो भने किन किरात याक्थुङ चुम्लुङ ब्राण्ड चलाइयो ? यो त ब्राण्ड चोरि भएजस्तो पो भयो की ? त्यसैले हामीले अब अलिपर सम्म पनि हेर्नुपर्ने आवश्यकता देखिन्छ । मेरो वास्तविक कथा यहा प्रस्तुत गरे यो प्रतिनिधि कथा मात्र हो । म जस्तै, मैले भन्दा अझ धेरै जीबनभर चुम्लुङमा योगदान दिईरहेका र पल्टनबाट छुटेपछि मात्र चुम्लुङमा सरिक हुने बीचमा सायद हरहिसाब राख्ने की ?

१० नोभेम्बर २०१४

Tuesday, December 17, 2013

एनआरएन एशिया प्यासेफिक मनिला सम्मेलनका सन्देशहरु (विश्वास दीप तिगेला)

अहिले म मेरो हातको एकमुठ्ठि भिजिटिङ् कार्डहरुलाई एकएक गर्दै ठम्याउदै छु । यो कार्ड फलनाको, यो कार्ड उसको, यो कार्ड चाहि मैले नमागि दिएको, यो कार्ड दिदाचाहि उसले निक्कै फूर्ति लगाएको र यो कार्ड चाहि मैले नै अनुरोध गरेर लिएको सबैसबै सम्झना हल्केलामा तलमाथि खेलिरहेका छन् ।

‘संमृद्ध नेपालको लागि नेपाली एकता’ नाराका साथ गैर आवासिय नेपाली संघ, एशिया प्यासिफिक तेस्रो सम्मेलन फिलिपिन्सको राजधानी मनिलामा सम्पन्न भएको आज बल्ल २ दिन बित्दैछ । म जस्तै सहभागिहरु केही मनिलाको सन्देश बोकेर आआफ्नो ठाँउमा फर्किसकेका छन् भने केही अझै मनिला तिरै होलान् । गल्फ र युरोप तीरबाट सहभागि साथिहरु अझै जहाजमै उडिरहेका होलान् उनीहरु केही समयपछि आआफ्नो कर्मभूमिमा पुग्नेछन् ।

सम्मेलन समाप्ति संगै नयाँ उर्जा र नयाँ अनुभूतिहरु संगालेर फर्किए पनि म अझै त्यहि धङधङ्ीमा छु अब मेरो कामले छपक्क छोपेपछि मात्र त्यो मनिलाको धङ्धङ्गी हट्नेछ । एशिया प्यासिफिक सम्मेलन भन्ने वित्तिकै संयोजक यामबहादुर गुरुङ त्रयलोक को प्रमुख उपस्थितीमा एक मध्यम होटलको सभाकक्षमा हाम्रो कार्यक्रम सम्पन्न हुनेछ भन्ने विश्वासको साथ म त्यसतर्फ लागेको थिए । ब्रुनाईबाट मनिला उड्नु भन्दा केही समय अगाडि विश्वास जी तपाईले एक सेसन कार्यक्रमको मेडिएटर गरिदिनुहोला भन्ने अनुरोध संयोजक र स्थानीय आयोजकबाट आयो । सम्झे सहयोग चाहिएकैले त यसो भन्नुभयोहोला त्यसैले मैले हुन्छ भन्दिएको थिए । अब त्यो कुन विषयको होला, खस नेपाली वा अंग्रेजी कुन भाषामा संचालन गर्नेहोला भन्ने कौतुहलता छदैथियो ।

फ्लाइटको कारण शुक्रवारको बिहानै म मनिलाको कार्यक्रम स्थल मन्डारिन ओरिएन्टल होटल, माकतीमा पुगे मैले कल्पना गरे जस्तो सामान्य होटन नभई त्यो ५ तारे होटल रहेछ । त्यहाको चलन ब्यवहारले आफैपनि परिवर्तित हुनुपर्ने त्यसैले म पनि भलाद्मी र सम्पतीवाला भई टोपले । आयोजकले बुक गरिदिएको तर पैसा आफै तिर्नुपर्ने गरि कोठा लिए । एकरातको १४० अमेरिकी डलरको हिसाबले दुइतीन रातको पैसा तिर्नुपर्ने कुराले म असमाजस्यमा परे । घुमेरै पैसा सिध्याउछ, कतिधेरै ब्यवहारको काम गर्नसकिएको छैन, घरपरिवारको त्यो कचकच कानमा गुन्जन्छ । बर्षमा एकदुइ पटक मात्र यसरी हिड्नु पर्दा त ठिकै हुन्थ्यो तर मेरो विवशता प्रत्येक महिना जस्तो घुम्नुछ ।

सम्मेलनको उद्घाटन हुने समयमा अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष जीवा लामिछाने, मुख्य संरक्षक देवमान हिराचन, संस्थापक अध्यक्ष उपेन्द्र महतो, केन्द्रीय महासचिव तेन्जी शेर्पा, केन्द्रीय उपाध्यक्ष हितमान गुरुङ, केन्द्रीय कोषाध्यक्ष भुवन भट्ट, केन्द्रीय सचिव टि. वी. कार्की, यूरोप क्षेत्रका संयोजक कुमार पन्त लगायत दर्जनौ केन्द्रीय पदाधिकारीहरुको उपस्थिती देख्दा म अलमलमा परे । मेरो बुझाई र त्यो वास्तविक धरातल फरक पाँए, एनआरएनको नयाँ नेतृत्वको लागि अक्टुबरको चुनावी हावाले वातावरण तताउन शुरु गरिसकेको हो की भन्ने आभाष भयो । यद्यपी सबै संग भेटघाट हुने अवसर आफैमा महत्वपूर्ण थियो ।

प्रमुख संरक्षक हिराचनबाट पानसमा बत्ति बालेर सम्मेलनको उद्घाटन् भयो । फिलिपिन्समा अध्यायनरत विद्यार्थी र त्यहि हूर्किएका नानीहरुको गीत तथा नृत्य साथै फिलिपिना कलाकारहरुको बेजोड प्रस्तुती, स्टेज सजावट, लाइट्निङ्, साउण्ड सिस्टम, कार्यक्रमको तर्जुमा हेर्दा साच्चै अर्कै संसारमा छु जस्तो लाग्यो । ठूठूला सम्मेलन गर्दा चौरीमा, सामुदायिक भवनमा सामान्य खाजा, खाना बाँडेर सस्तोमा गर्नुपर्छ भन्ने मेरो मानसिकता पूरै धुमिल भयो । सहभागिको लागि बुझाएको दर्ता शुल्क अमेरिकी एकसय डलरले त्यो भब्य होटलको कार्यक्रम अवश्य सम्भव भएन सायद ।

उद्घाटनको महत्वपूर्ण शत्र समापन संगै पहिलो सेसनको मध्यस्थता गर्ने मेरो पालो आयो । वैदेशिक रोजगारका चुनौती र सम्भावना विषयमा बहस गराउने मेरो विषय थियो । अघिल्लो कार्यक्रम निक्कै लामो भइसकेकोले ट्वाइलेट जाने ५ मिनेटको ब्रेक दिए । प्रायः बाहिरिए । कार्यक्रम शुरुगरि हाल्नुहोस संयोजक ज्यूको दबाब आयो म ब्रेकको समय सिद्धिदानसिद्धिदै पुनः माइकबाट बोल्न शुरु गरे । बसिरहेकाहरु नबाहिरिउन, बाहिरकाहरु भित्रिउन भन्ने उद्देश्यले सेसनका अध्यक्षलाई आसन ग्रहण गराए तर वहा ट्वाइलेट जाने लाइनमै हुनुहुन्थ्यो । कार्यक्रम गर्ने स्थलमा धेरैले एकैपटक प्रयोग गर्न मिल्ने ट्वाइलेटको ब्यवस्था हुनुपर्नेरहेछ भन्ने महशुस भयो । सहभागीहरु भित्रिए र बल्ल चौथो पटक आसन ग्रहणको अनुरोध गर्दा चाहि वैदेशिक रोजगार कार्यलदका संयोजक स्टेजमा आउनु भयो ।

फिलिपिन्सका पूर्व लेबर मन्त्री मरियानिटो डि रोकेलाई अतिथिको आसन ग्रहण गराए लगतै फिलिपिन्सको अनुभव, अनुभूतिहरु सेयर गर्न ड्यासमा बोल्न अनुरोध गरे । वहाले प्रिजेन्टेसन गरिरहदा मलाई नेपाल सरकारको वैदेशिक विभाग हेर्ने कुनै आधिकारिक ब्यक्ति भईदिए हुन्थ्यो भन्ने लाग्यो । मन्त्री रोकेले तथ्याङ सहित ठूठूला समस्याहरुलाई कसरी समाधान गरियो, कसरी गर्ने ? आदी विषयमा जानकारी दिनुभयो । बैदेशिक रोजगार सम्बन्धि नेपालले फिलिपिन्सलाई पछ्याईरहेको छ । एशियामा वर्कफोर्स सप्लाई गर्ने मुलुक मध्ये फिलिपिन्स अग्रपंतिमा छ भने त्यसपछि नेपाल पनि रहेको छ । मन्त्री रोकेको प्रिजेन्टेसन लगतै केन्द्रीय कोषाध्यक्ष भुवन भट्टले केही महत्वपूर्ण प्रश्न राख्नु भएपछि मन्त्री रोके पनि प्रसन्न हुनुभयो । त्यसपछि एशिया प्यासिफिक सहसंयोजक, कोरिया, जापानका प्रतिनिधि र युरोप संयोजकलाई पालैपालो बोल्न समय दिए । सहभागीहरुबाट आएका प्रश्नहरुको उत्तर दिन लगाए र अन्तमा सेसनका अध्यक्षलाई मन्तब्य संगै बिर्षजन गर्न आग्रह गर्दै म विदा भए ।

दोस्रो सेसन शुरु भयो । एनआरएन संस्थाको नामबाट ब्यक्तिहरुले ब्यक्तिगत ब्यापार बढाएको भन्ने आरोप आए । अध्यक्ष लामिछानेले संस्था स्थापनाको प्रस्तावना मै सामुहिक लगानी गर्ने भन्ने उल्लेख भएबमोजिम नै सामुहिक रुपबाट एनआरएन इन्भेष्टमेन्ट शुरु भएको स्पष्ट पार्नुभयो । एनआरएन र इन्भेष्टमेन्ट अलगअलग भएको र संघको लगानी इन्भेष्टमेन्टमा नभएकोले भोलि संघलाई कुनैपनि समस्या नहुने स्पष्ट पार्नुभयो । दोहोरो नागरिकताको बारेमा उपाध्यक्ष गुरुङले स्पष्ट पार्नुभयो । यस्तैगरि एनआरएनले खुल्ला विश्वविद्यालयको अवधारणा ल्याएको सन्दर्भमा डा. जोसेप पि. काम्पोसले शिक्षा सम्बन्धि महत्वपूर्ण जानकारी दिनुभयो ।

तेस्रो सेसनमा ब्रुनाई, मकाउ, हङकङ, सिङ्गापुर, थाइल्याण्ड, चाइना, जापान, कोरिया लगायतले आआफ्नो देशको प्रगति विवरण प्रस्तुत गर्नुभयो भने चौथो सेसनमा गैर आवासिय नेपाली संघ स्थापना भएको १० औ बर्ष सम्ममा पनि संघ दर्ता नभएको कारण केन्द्रीय पदाधिकारीहरुमा ठूलो दबाब आयो । आगामी छैठौ विश्व सम्मेलन अगावै दर्ता गर्न अल्टिमेटम सम्म भयो ।

संघ दर्ता नभएकै कारणले कतिपय मुलुकमा सार्वजनिक रुपबाट कामगर्न नमिलेको, खुल्ला विश्वविद्यालय दर्ताको लागि वैधानिकतामा समस्या आएको आदी कुराहरु उठे । तातिएका सहभागीहरुलाई संस्थापक अध्यक्ष महतोले स्पष्ट पार्ने कोशिस गर्नुभयो यद्यपी एनआरएनको सरकारी परिभाषा भित्रै भएपनि दर्ता गर्न दबाबहरु आए । नेपाल बाहिर ६ महिना भन्दा बढि बसेकालाई नै एनआरएन मानिन्छ भन्ने संघको परिभाषा विश्व सम्मेलनले मात्र परिवर्तन गर्न सक्दछ महतोले थप प्रष्ट पार्नुभयो । सहभागिहरुले सरकारको २ बर्षे परिभाषालाई परिवर्तन गर्न नसके एनआरएन सदस्यताको प्रकार अन्तगर्त विद्यार्थी र छोटो समयको लागि श्रम गर्न बाहिरिएकाहरुलाई समेट्न सकिने विकल्प दिए । त्यस्तैगरि एशिया प्यासेफिक अन्तर्गतका बर्मा, थाइल्याण्ड र मलेशियाका नेपालीहरुलाई एनआरएन प्रमाणपत्र उपलब्ध गराउनको लागि विशेष कार्यदलको पनि ब्यवस्था गर्नुपर्ने माग गरे । एनआरएन कार्ड सरकारबाट लिनको लागि बाउबाजेको नागरिकता वा राहदानी देखाउनु पर्ने कानुनमा भनिएकोमा दोस्रो विश्वयुद्ध ताका वर्मा, थाइल्याड र मलेशिया आएकाहरु संग उक्त कागजपत्र नभएको तर अझै नेपाली भनी गौरव गर्ने नेपालीहरु रहेको बारेमा गम्भिरतापूर्वक चर्चा चलेको थियो ।

आगामी छैठौं विश्व सम्मेलन १९ – २२ अक्टोबर २०१३, काठमाडौंमा हुने सम्बन्धमा सहभागीहरुले कम खर्चिलो हुनुपर्ने, चुस्त हुनुपर्ने साथै आर्थिक पारदर्शिता हुनुपर्ने माग गरेका थिए । त्यस्तैगरि समितिको कार्यकाल २ बर्षबाट बढाएर ३ बर्ष हुनुपर्ने सम्बन्धमा पनि ब्यापक बहस चलेको थियो । एनआरएनको विभिन्न क्षेत्रमा सम्पन्न सम्मेलनहरु मध्ये सबैभन्दा ब्यवस्थित र महत्वपूर्ण बहस मनिलामा भएको कुरा सहभागीहले बताए ।

सम्मेलनको औपचारिक बिषर्जन लगतै मण्डारिन ओरियन्टलको लविमै सम्पन्न भब्य डिनर पार्टीले अत्यधिक मनोरंजन दियो । सम्मेलनको अघिल्लो दिन सम्पन्न भब्य स्वागत डिनरले पनि सबैलाई न्यानोपन दिएको थियो । विश्वका विभिन्न मुलुकहरुबाट १२५ जनाको सहभागीता रहेको सम्मेलनमा लगभग २८ हजार अमेरिकन डलर खर्च भएको कुरा फिलीपिन्सका एनआरएन अध्यक्ष सुदर्शन खड्काकाले बताउनु भएको छ । उक्त मनिला सम्मेलनको लागि सानोतिनो धेरै चन्दादाताहरुबाट नै त्यो रकम जम्मा भएको हो ।
केन्द्र एनआरएनको नयाँ नेतृत्वको लागि चुनावको मिति नजिकिन्दै जादा एकअर्काको चाहना बुझ्ने बहाना बनेको सम्मेलनमा केहीले अनौपचारिक उम्मेदवारी समेत घोषणा गरे । नेपालका पहिलो एनआरएन लाहूरेहरु हुन भन्नेमा विवाद छैन र यसपटकको सम्मेलनमा पनि ८ जना पूर्व व्रिट्रिस गोर्खाहरुको सहभागिता निक्कै महत्वपूर्ण रह्यो । त्यस्तै अघोषित नेपालीहरु मध्येका सबैभन्दा धनी ब्यक्ति, बिबि एयरका मालिक लगायतका संलग्नताहरु हेर्दा यो सम्मेलन धनीमानीहरुको होलिडे क्लव जस्तो लागेपनि मनिला सम्मेलन एनआरएनको लागि कोशेढुङगा सावित भयो ।

biswasdip@ymail.com
२० मे २०१३
ब्रुनाई


गैरआवासीय नेपाली संघको तेस्रो एशिया प्रशान्त क्षेत्रीय बैठकद्वारा जारी मनिला घोषणापत्र २०१३

गैरआवासीय नेपाली संघ एशिया प्रसान्त क्षेत्रको तेस्रो वैठक १८ मे २०१३ मा फिलिपिन्सको राजधानी मनिलामा ६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो । सम्बृद्ध नेपालका लागि एकीकृत नेपाली भन्ने नाराका साथ सम्पन्न यो वैठकमा १८ देशका १ सय २५ प्रतिनिधिहरुको सहभागिता रह्यो ।
घोषणापत्रका बुँदाहरु
१. बैदेशिक रोजगार तथा शिक्षाको क्षेत्रमा फिलिपिन्स सरकारले गरेको अनुभवलाई नेपालको परिप्रेक्षमा लागू गर्न आबश्यक अध्ययन तथा पहल गर्ने ।
२. अक्टुवर २०१३ मा हुन लागेको संघकोे छैटौं बिश्व सम्मेलन अघि नै संघ दर्ताका लागि नेपाल सरकारसँग बिशेष समन्वय गर्ने ।
३. नेपालमा हुन लागेको आगामी निर्वाचनमा बिदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई मतदाता परिचयपत्र उपलब्ध गराई सहज रुपमा मताधिकार सुनिश्चीत गराउन हार्दिक अनुरोध गर्ने ।
४. बिदेशमा बसोबास गरिआएका नेपाली मूलका बिदेशी नागरिकहरुलाई गैरआवासीय नेपालीसम्बन्धी नियमावलीअनुसारको आबश्यक कागजातहरु जुटाउन असमर्थ भएको अबस्थामा पनि सहजरुपमा एनआरएन आइडी उपलब्ध गराउन नेपाल सरकारसँग समन्वय गर्ने ।
५. पाँचौं बिश्व सम्मेलनबाट अनुमोदित सामूहिक लगानीको अबधारणालाई मूर्त रुप दिन नेपालमा लगानी बढाउन गैरआवासीय नेपाली संघको संजाललाई परिचालित गर्ने ।
६. एनआरएन एशिया प्रशान्त क्षेत्रीय वैठक सफलतापूर्वक सम्पन्न गरेकोमा आयोजक समिति तथा राष्ट्रिय समन्वय परिषद् फिलिपिन्सलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

एमाओवादीको पराजय र संविधान सभा निर्वाचन २०७० को सन्देश


भर्खरै सम्पन्न चुनावको परिणामले केन्द्रको असल नीति भन्दा स्थानीय स्तरको असल नेतृत्व महत्वपूर्ण हुन्छ भन्ने सन्देश दिएको छ । त्यसो हुदा खराब नीतिलाई पनि स्थानीय स्तरमा स्थानीय नेतृत्वले मिलाएर जनतालाई सुनाउदा रहेछन । यस पटक एमाओवादीले भोग्नु परेको परिणामको नियती पनि यहि हो । सैद्धान्तिक र नीतिगत एमाओवादी परिवर्तनकामी शक्ति हो तर उसले धेरै सिद्धान्त र सपनाहरुको कुरा गरयो । गाँउ, वार्ड र टोल स्तरको संगठनलाई ख्यालै गरेन । एमाओवादीका केन्द्रीय नेतृत्वहरु प्रभावशाली रहे तब कार्यकर्ताहरु आश्रीत बने । नेता र परिवर्तनकारी पार्टी नीतिलाई हेरेर जनता स्वतः झुमिनुपर्छ भन्ने मान्यतामा पुगे । त्यो Biswasdip-webभन्दा हानीकारक त पार्टी सरकारमा रहेको कारण केहीले अवसर र जिम्मेवारीहरु पाँए तर धेरैले अवसर र जिम्मेवारी पाएन्न र अपेक्षाहरु प्राप्त नभएपछि निरासा बने । कसैलाई पनि पार्टीको कुरा सुनाएन्न र यसपटकको चुनावमा सक्रिय रुपबाट लागेन्न । उम्मेदवार बाहेक पार्टी नेतृत्व तथा कार्यकर्ताले देखावटी जिम्मेवारी मात्र पुरा गरे ।
काँग्रेस र एमालेको जस्तो लामो इतिहास नभई नै, तल्लो तहमा मजबुत संगठन नभइनै ह्वातै पहिलो संविधान सभामा ठूलो पार्टी बन्न पुगेको कारण तल्लो तहमा पार्टीको सांगठानिक स्थायित्व रहेन । सरकारमा रहेको वेला वा अन्य समयमा पार्टीले पर्याप्त कार्यक्रम दिन नसक्नुले भएका कार्यकर्ता र आस्थावान घटे तर बढेन्न । अन्य पार्टी फूर्सदिला भएको बेला आफ्नो पार्टी संगठनलाई सुदृढ बनाउदै लगे । सरकार बाहिर रहेका पार्टीको कार्यकर्तामा पार्टीबाट धेरै आंकाक्षा नहुने भएकोले संगठन मजबुत बनाउन सजिलो हुने गर्दछ र कार्यकर्ता तथा समर्थक रुष्ट हुने कुरा हुदैन । पार्टी सरकारमा गएको बेला सिंगो देशको जिम्मेवारी संगै पार्टी कार्यकर्ता साथै समर्थकको इच्छा आंकाक्षा पुरा गरिदिनुपर्ने चुनौती हुने भएकोले सायद यिनै काममा यसपटक एमाओवादी चुकेको हुनुपर्दछ ।
पार्टी भित्र अन्तरघातको इतिहास हामीले पटकपटक पढ्दै, सुन्दै आएका छौ । यसपटकको चुनाउमा एमाओवादी भित्र पनि त्यो इतिहास दोहरियो । आफ्नो क्षेत्रको प्रत्यक्ष उम्मेदवारले हारे मात्र त्यहि क्षेत्रको प्रतिनिधित्व गरेर समानुपातिकमा पर्ने प्राविधिक कारणले अघोषित विषालु खेल भयो । अन्ततः त्यो खेलले प्रत्येक्षका प्रत्यासीलाई बगायो, पार्टीलाई बगायो र स्वयं समानुपातिकबाट पर्ने महत्वाकांक्षीलाई पनि बगाएको छ । मिश्रीत निर्वाचन प्रणालीले ल्याएको धेरै सकारात्मक कुरा संगै भित्रिएको नकारात्मक पाटो हो यो ।
एमाओवादीको यस पटकको भारी पराजयको कारण अस्वभाविक भने अवश्य होइन । सामान्यतया राजनीतिक दल सरकार चलाएको एक, दुई वा तिन कार्यकाल पछि परिवर्तन हुने गर्दछ । अपवादको रुपमा कुनै मुलुकमा लामो समय रहने गर्दछ । सायद त्यसैको कारणले अमेरिकामा दुई कार्यकाल भन्दा बढि राष्ट्रपति हुन नपाउने प्रावधान रहेको छ र अधिकाश मुलुकहरुमा यस्तो ब्यवस्था पाइन्छन् ।
एमाओवादीबाट ड्यास माओवादी फूट्नु, बहूपहिचानबादीहरुद्धारा झूठो विश्लेषण गर्दै खेदो गर्नु । शिक्षक, कर्मचारी र प्रसासनबाट पर्याप्त सहयोग नहुनु अर्थात एमाओवादी पार्टी सम्बद्ध शिक्षक र कर्मचारी संगठन दह्रो नहुनु । हिजो द्धन्दको घाउ निको भई नसक्नु । तत्कालिन जनयुद्धको बेलाको हत्या अपहरण, सम्पति कब्जा लगायतबाट दिइएको पीडा तथा नकरात्मक प्रभाव सेलाई नसक्नु । शहरको रोड विस्तारमा दिइएको पीडा । जनसेना नेपाली सेनामा रुपान्तर संगै आफ्नो बन्दुके शक्तिको अन्त्य । स्वेच्छिक अवकास तथा अयोग्य लडाकूहरुको कमजोर ब्यवस्थापन । नेताहरुको सुखसयलको जीवनयापन । विभिन्न अवसरहरुमा नातावाद, कृपावादको प्रभाव लगायत पार्टी पङ्तीको क्याडेट वेस सहायक कारणहरु हुन भने मुख्यतया चाहि संघीयताको मुद्धा हो ।
संघीयताको सवालमा एमाओवादी सबैभन्दा प्रष्ट र ढृढ छ । सदिआंै देखि रहेको जातिय शोषणबाट मुक्ति गराउनको लागि संघीयता आवश्यक ठहर हो तर जातियमुक्ति चाहाने, संघीयता आवश्यक भएका समुदाय कै राजनैतिक चेतना माथि उठ्न नसक्नु अर्को पाटो हो । तिनै समुदायले आआफ्नो भोटको भाँडो थाप्न थालेपछि एमाओवादीमा आउनुपर्ने भोट समेत प्राप्त नभएको हो । जनताले अवसर एक पटक दिन्छन र राज्य पूर्नसंरचना सहितको संविधान जारी गर्ने प्राप्त अघिल्लो अवसर एमाओवादीले गुमाएकै हो । त्यस्तै यस पटकको पनि चुनावी मुख्य नारा संविधान र राज्यपूर्नसंरचनालाई नै राख्नु पर्दथ्यो किन की नियोजित तवरबाटै संविधान जारी नगरेको शंका गरिरहेको बेला उत्पादन र आर्थिक क्रान्तिको कुराले एमाओवादी वास्तविक समस्या सम्बोधनबाट पछाडी हटेको भान भएपछि जनताले थोरै मात्र विश्वास गरे । जनसेना विघटन गर्नु, क्रान्तिकारी कम्युनिष्ट पार्टीले संसदीय पद्धतिलाई अबलम्बन गर्नु र मुख्य राजनैतिक मुद्धालाई दोस्रो प्राथमिकतामा राख्नु बाघ कराउनु र बाख्री हराउनु जस्तै भयो । एमाओवादीले यसपटकको चुनावलाई ०६४ कै लहर झै हेर्नुहुन्न थियो र अघिल्लो पटक विजयी उम्मेदवार यथास्थानबाटै उठेका भए अहिलेको भन्दा राम्रो स्थान प्राप्त हुनेथियो । एमाओवादी वैचारिक रुपबाट र सैद्धान्तिक रुपबाट सुस्पष्ट छ । उसको राजनैतिक मुद्धा पनि उत्कृष्ट छ । यति हुदाहुदै पनि यसपटकको चुनावी हारको मुख्य कारण चाहि चुनावी रणनीति लगायत प्राविधिक पक्ष नै हुन ।
यस पटकको यो चुनावी परिणाम एकल पहिचान सहितको संघीयवादीको लागि निरासाजनक हो तर हार होइन । किन की हिजो अड्को थापेजस्तो नभई खुल्ला छात्ति बनाएर काँग्रेस, एमालेले अब एमाओवादीलाई सहमतिमा ल्याउनुपर्ने हुन्छ । बहूपहिचान र एकल पहिचान त प्राविधिक कुरा पनि हो । काँग्रेस र एमालेले भने जस्तो बहूपचिानको ७ प्रदेशमा गयो भने हिजोको सर्वाधिक असफल ५ विकास क्षेत्रको अवधारणा सरह हुनेछ । त्यसैले उक्त मोडलमा राज्य सवल र स्वायत्त हुन सक्दैन । एकल पहिचानयुक्त १४ वा ११ प्रदेशमा गयो भने राज्य तहको एकल पहिचानले सिंगो मुलुक बहूपहिचानयुक्त हुन्छ । कतिपयले ७ प्रदेश हुदा सबै राज्य र मुलुकमै एकजातिय हालीमुहाली रहने तर्क अघि सारिरहेका छन । वास्तवमा सफल र प्रभावकारी राज्य वा प्रदेश बनाउन राज्य तहमा एकल पहिचानको प्रदेश हुन जरुरी हुन्छ । यो कुरा राज्य पूर्नसंरचना तथा मुलुकको संमृद्धिको सन्दर्भमा प्राविधिक कुरा पनि हो ।
यसपटकको संविधान सभा सदस्य निर्वाचन २०७० संघीयताको सवालमा अघोषित जनमत संग्रह सरह भएको कारण अब झर्याङ अर्थात लिस्नो कता लाग्ने हो हेर्न बाँकी छ । नेपाली सबै उक्लन सक्ने वा एक समुदाय मात्र उक्लन सक्ने भर्याङ बन्ने हो बहूप्रतिक्षित छ । काँग्रेस, एमालेले नेतृत्व गरेपछि पनि आखिर सबल राज्यको लागि राज्यको पूर्नसंरचना त गर्नैपर्छ । राजनैतिक मुद्धा आफ्नै ठाँउमा छ यद्यपी सबै जाति समुदायको भोटबाट ठूला पार्टी बनेका हुन त्यसैले विशेषज्ञहरुको अध्ययनले सुझाएको ११ वा १४ प्रदेशको लागि अब काँग्रेस, एमालेले पहल गरिदिने हो भने एमाओवादीको अस्थित्व सधैको लागि धरापमा पर्न सक्दछ तर जातिय मुक्तिको सवाललाई सम्बोधन नगरी मुलुक अगाडि बढ्न सक्दैन जुनकुरा जोखिमपूर्ण छ । त्यो जिम्मा काँग्रेस, एमालेमा आएको छ र अध्यक्ष प्रचण्ड र एमाओवादीलाई त्यो चुनौती घटेर गएको छ । एक हिसाबले त्यहि समस्या हल गर्नबाट पछि हट्ने अवसर पनि बनेको छ ।
एमाओवादीले स्वयं पार्टीको लागि आत्माघात हुने गल्तिहरु पटकपटक गर्दै आएको छ । यसपटकको मत गणना प्रतिनिधिहरुलाई बीचबाटै फिर्ता बोलाउनु, एमाओवादीको प्रतिनिधिविना मतगणना जारी रहनु अर्को गल्ति हो । विगतको प्रचलन भनेको बुथबाट मतपत्र बाकस संगै प्रत्यक पार्टीको प्रतिनिधि मतगणनास्थलमा आइपुगे लगतै मतगणना शुरु गर्ने हो । यो सवालमा अलिकति सोचिदिएको भए अहिलेका यी समस्याहरु आउने थिएन्न । एमाओवादीले लगाएको आरोप झै मतपेटिका साट्ने काम हुनै सक्दैन भन्ने ठाँउ पनि छैन । त्यसैले अबको निकास भनेको विधिसम्मत अगाडि बढ्नु नै हो ।
अन्तमा, देश र जनताको सवालमा एमाओवादी संग जति रचनात्मक सोच र कार्यक्रमहरु छन् त्यति काँग्रेस र एमाले संग छदैछैन । त्यसैले अब संविधान निर्माणमा बफादारिता गर्दै अर्को निर्वाचन सम्म पर्खनु एमाओवादीको मुख्य चुनौती हो । चुनावमा कि जितिन्छ की हारिन्छ । जस्तो परिणाम आएपनि स्वीकार्नु पर्दछ । आखिर ५ बर्ष पछि अर्को चुनाव आई नै हाल्नेछ ।
- विश्वास दीप तिगेला, biswasdip@ymail.com

Bio-data of Biswasdip

Name: Biswasdip Tigela LIMBU
DOB: 12 November
DOB Place: Hattikharka 2, Dhankuta, Limbuwan, Nepal
Currently: Brunei/United Kingdom
Wife: Mrs Bhojkumari LIMBU
Children: Miss Kalpana LIMBU, Miss Maliyana LIMBU & Master Tangnam LIMBU
Father: Mil Bahadur LIMBU
Mother: Tikamaya LIMBU

Author:
1. GOPYA KURA (Nepali Modern Songs Album 2013)
2. NISPAKCHAYA SABIDHAN SAMBRIDHA RASTA (Political Literature 2012)
3. DESH BOKNUKO PIDA (Travel Essays 2007)
4. BORNEO PARICHAYA (Geography Introduction 2007)
5. GRIHAYUDDHAKA PIDA (Travel Essays 2007)
6. AAVIYAN (Political Words Collection 1999)
7. PARDESHIKA  KOSELI  KAVITAHARU (Poetry Book 1998)

Publisher:
1. SHRINKHALA (Poetry by Lokendra TIGELA 2011)
2. JIWAN KAANDAA KI PHOOL (Autobiographical by Jhamak GHIMIRE 2010)
3. APADASTA JINDAGI (One Act Play Collection by Hariraj KHEWA 2003)
4. ATANGKA KO CHHAYA MUNI (Short Stories by Rajkumar Dikpal 2007)
5. SODHUNGGEN IMANSING CHOTLUNG (The Epic by Amar TUMYAHANG 2004)
6. SOBUHANSHA (Semi-Epic Collection by Sesami SERENG 2003)

Producer:
THE GENTLE LOTUS/MIRDUL PADAM (Documentary Video about Padamsing MURINGLA, Sikkim 2005)

Editor:
1. Chief Editor: The Himalayan Bard, Kathmandu 2013
2. Chief Editor: PRAVASI BEDANAKO AAWAJHARU, UK/Brunei 1998-2008
3. Editor Member: PADAMSING SUBBA BYKETATO KRITITO 2005
4. Guest Editor: JANA VISHWAS Weekly, Dhankuta 2007
5. Chief Editor: www.nepaliLiterature.com 2005 – now
6. Chief Editor: www.nepaliSamachar.com 2007 – now
7. Editor/Publisher: NEPALI SAMACHAR, Weekly 2012 – now
8. Chief Editor: SAUGAT Wall Paper, Dhankuta Mulitipal Campus 1994/95

Affiliations:
1. President: Global Federation for Nepali Literature, World Central Committee 2013 – 2016
2. Member: Literature Task Force, Non-Resident Nepali Association, International Co-ordination Council 2011-13
3. President: Nepali Diaspora Literature Society, UK/Brunei 2011- 2013
4. Member: Nepali Diaspora Literature Society 2001
5. Secretary of General: International Nepali Literature Society, UK Chapter 2007 – 2010
6. Assist General Secretary: Nepali Literature Develop Council UK 2007 – 2012
7. Vice President: Dhankuta Prativa Prasthan, Dhankuta, Nepal Chapter 2007 –
8. Secretary: Dhankuta Prativa Prasthan, UK Chapter 2007 –
9. Founder: Online Nepali Literature Forum, UK/Nepal 2005
10. Member: Online Media Association of Nepal 2010
11. Member: Adivasi Geetkar Samaj, Kathmandu
12. Member: Amnesty International

Working:
Education Centre, 2RGR, under British Army, UK/Brunei 2004 – 2014

Visit:
United Kingdom 1996, Belgium 2000, Netherland 2000, Germany 1996, Canada 2001, USA 2001, Belize 2000, France 2001, Dubai 2001, Oman 2001, Afghanistan 2001, Macedonia 2000, Kosovo 2007, Malaysia 1997, Brunei 1997, Singapore 1998, Thailand 1999, East Timor 1999, Australia 1999, Fiji 9898, Hong Kong 2011, Japan 2012, Philippines 2013, China 2003 and India 1995.

Honored and Awards:
1. Letter of Felicitation: Meteri Nepal, Kathmandu in 2013 
2. Letter of Felicitation: Sangharsama Kalam Sahitya Samaj, Pokhara 2013
3. Letter of Felicitation: Sahitya Sangalo, UK 2010
4. Letter of Felicitation: Kirat Dharma tatha Sahitya Utthan Sangh, Malaysia 2009
5. Award Certificate: INLS Narayan tatha Jayanta Prasei web Journalism Award, USA 2007

Medals:
1. Long Service & Good Conduct 2015,
2. East Timor 1999,
3. Afghanistan 2001,
4. Macedonia 2001,
5. Kosovo 2007,
6. Queen Golden Jubilee 2001,
7. Queen Diamond Jubilee 2012