Tuesday, January 15, 2019

संचार र समाजको निम्ति महत्वपूर्ण योगदान - विश्वास दीप तिगेला

एक समाजशास्त्री जिम मोरिसनको भनाई छ “जसले मिडिया कन्ट्रोल गर्छ, उसैले तपाईको दिमाग पनि कन्ट्रोल गर्दछ ।”यो भनाईलाई नियाल्ने हो भने साच्चै एक निर्दोषलाई पटकपटक मिडियाले दोषी भनी लेखिदिने हो भने समाजले उसलाई दोषी नै देख्न शुरु गर्दछ । आरोपित ब्यक्तिलाई आफ्नो भनाई वा स्पष्टिकरण राख्ने अवसर नहुनु हो त मिडिया साच्चै नै निर्दयी हुनपुग्दछ । तर, फलाम काटन फलाम नै चाहिन्छ भने झै मिडियाको गलत काम चिर्न पनि मिडिया नै चाहिन्छ । सबै मिडिया गलत हुदैन्न र सधै गलत हुदैन्न तर मिडियाको भूमिका बेलाबखत असरकारी हुने गर्दछ । उसो त ब्यापार बढाउन पनि मिडिया चाहिन्छ, आफैलाई समाजमा बिकाउन पनि मिडिया चाहिन्छ, अधिकारको आवाज उठाउन पनि मिडिया चाहिन्छ । त्यसैले युकेकै राजनीतिज्ञ एडमण्ड बर्कले सन् १९४१ मा तत्कालिन प्रिन्ट पत्रकारितालाई राज्यको चौथो शक्ति मानेका थिए । अहिले पनि कार्यपालिका, ब्यवस्थापिका र न्यायपालिका पश्चात मिडियालाई चौथो अंगको रुपमा मानिन्छ र मानिसको निम्ति मिडिया अभिन्न अंग हो भन्ने पुष्ट्याई हुन्छ ।

विश्वकै पहिलो प्रिन्ट पत्रिका योहान कारलोस (जर्मनी) सन १५७५, बृट्रेनको पहिलो प्रिन्ट पत्रिका द अक्सफोर्ड ग्याजेट १६६५ देखि युकेमा रहेका नेपालीहरुको पहिलो सगरमाथा टाइम्स सन् १९९३ हुदै अहिले अत्यन्तै लोकप्रिय पत्रिका एभरेष्ट टाईम्स पत्रिका सम्म आईपुग्दा । हामीले धेरै पाठ सिकिसकेका छौ र सिकिरहेका छौ । पछिल्लो दशक सोसल मिडियाको विकास र विस्तार संगै सयौ बर्ष पुराना विश्वब्यापी पत्रिका न्यूजअफ दि वल्ड लगायत सन् २०१७ मा मात्र युकेको ४० वटा र सन् २००५ देखि यता जम्मा १९८ वटा प्रिन्ट पत्रिकाहरु बन्द भएको तथ्याङ छ । यसर्थ पनि नयाँ परिवेश संगै हाम्रा मिडियाहरुलाई अगाडि लैजान पर्ने दबाब छ । प्राप्त तथ्याङ्क अनुसार अहिले विश्वमा ४ दशमलव ६२ मिलियन वेभसाइटहरु मध्ये २५ प्रतिशत मात्र प्रभावकारी छन् ।

नयाँ प्रविधिले नयाँनयाँ सुविधा ल्याएपनि । प्रिन्ट पत्रिका पढने वृद्धा तथा अधवैंसे पुस्ता छदैछन । प्रिन्ट पत्रिका पढनुको मज्जा वेभपेज पढ्नुले दिन सक्दैसक्दैन । युकेको निम्ति नयाँ माइग्रेन गोर्खालीहरुको अवस्थाले पनि प्रिन्ट पत्रिका चाहिन्छ नै । स्तरियता, निरन्तरता, समावेशिता र समाजप्रतिको उत्तरदायित्व इत्यादी एभरेष्ट टाईम्स पत्रिकाले अविछिन्न समेटदै आएको पाइन्छ । यसको ब्यवसायिकता नै यसको मुल आधार हो । सन् २००८ देखि शुरु भएर एक दशक भब्य सफलतापूर्वक झनै लोकप्रिय बनेर आउनु चानचुने कुरा होइन । सामाजिक दायित्व सहितको सामुहिक कर्म नै आजको एभरेष्ट टाईम्स हो । जसरी यसले वेभसाइटलाई प्रभावकारी ढंगले संचालन गरिरहेको छ । प्रिन्ट कपीमा सबै संघसस्थाहरुलाई स्थान दिई रहेको छ । यो एक उद्धाहरणिय कार्य हो । समय यति बदलिन्दो छ की राजनैतिक सरकार नै कोअपरिटिव क्यापटिलिजमहरु एकएक सफल भईरहेका छन जस्तै ताईवान, जापान र सिंगापुर आदि । त्यसले के इंगित गर्दछ भने अहिलेको हरेक इन्स्टििच्युसनहरु सहकारीमुलक हुनपर्ने आवश्यक देखिन्छ । जुन कुरालाई एभरेष्ट टाईम्स पत्रिका परिवारले गर्दै आएको देखिन्छ ।

एभरेष्ट टाईम्स जसरी सिंगो एउटा इन्टिच्युसन बन्यो त्यसले दीर्घकाल सम्म ररिरहने विश्वास दिलाउछ । झट्ट हेर्दा पत्रिका मात्र देखिन्छ तर यसैको मेसोमा एभरेष्ट टाइम्सले युकेको नेपाली पत्रकारिता क्षेत्रमा पुरयाएको योगदान अभूतपूर्व छ । धेरै सिकारु लेखक तथा पत्रकारहरुलाई स्थापित गराएको छ । पत्रिका नपढनेहरुलाई पढने बनाएको छ । फोटो सेक्सनले अरुलाई आकर्षित गरेको छ । युकेमा अन्य मुलुकका नागरिकलाई देखाउन मिल्ने पत्रिका बनेको छ । अग्रज तथा विज्ञ पत्रकारहरु नेपालबाट युकेमा निम्त्याएको अवसरमा अन्तरक्रिया तथा तालिमहरु भईरहेको छ । त्यति मात्र नभई जन्मभूमि नेपालको तत्कालिन र हालको परिस्थितीको बारेमा पनि संचारको क्षेत्रबाट अहंम भूमिका निर्वाह गर्दै आईरहेको छ ।

युकेका न्यूजहरु मध्ये बिबिसीले झण्डै दुईतिहाई समेटदछ । यद्यपी धेरै पत्रिकाहरु विश्वब्यापी लोकप्रिय छ । पत्रिका विक्रि भन्दा विज्ञापनले धानिने, पालिने हो र सशुल्क अनलाईन सस्क्राइबर र युट्युव गुगलएड प्याकेजले मिडियाको भविश्य झनै आसलाग्दो छ । नयाँ प्रविधिमा मोडिन नसक्ने केही मिडियाहरु बन्दभए, केही नयाँ रुपमा उदाए । प्राप्त तथ्याङ अनुसार सन् २०१७ मा मात्र १० वटा पत्रिकाहरु शुरुवात भएका छन् । युकेको मिडिया सन्दर्भमा गजब चाहि युकेका अर्थमन्त्री अर्थात चान्सलर एक्सचेकर ओसवन एक पत्रिकाको सम्पादक बनेका छन् । लिबरल डेमोक्रेटिक पार्टीका तत्कालिन लोकप्रिय लिडर निक क्लेक पनि एक पत्रिकाको सम्पादक तथा स्तम्भकार बनेका छन । यसले पत्रकारिता क्षेत्र युकेमा कति सम्मानित छ छर्लङ्ग हुन्छ । यस्तो महत्वपूर्ण सम्मानित क्षेत्रलाई हामीले पनि सम्मानित बनाउने प्रतिज्ञा गरौं । यस एभरेष्ट टाइम्सको अर्को पटक सिल्भर जुब्लि उत्सव पनि मनाउन पाऔ भन्ने शुभेच्छा सहित दशौं बार्षिक उत्सवको सबैमा हार्दिक शुभ कामना ।

biswasdip@ymail.com
सम्पादकः नेपालीसमाचारडटकम


पूर्वअध्यक्षः फोनिज युके

ब्रेक्जिटले कता लैजादैछ ब्रिट्रिस र युरोपियनहरुलाई ? - विश्वास दीप तिगेला,

संयुक्त अधिराज्य (युके) यूरोपियन यूनियन (ईयू) मै रहने की बाहिरिने भन्ने जनमत संग्रहको अन्तिम परिणाम आउदा दुवै हात उठाएर तत्कालिन गृहमन्त्री टेरेजा मे खुसिले उफ्रिएकी थिइन् । त्यसपछि उनी आफै प्रधानमन्त्री हुने सौभाग्य मिल्यो । र, २३ जुन २०१६ मा भएको जनमत संग्रहको म्याण्डेटले अन्ततः २९ मार्च २०१८ का दिन युके ईयूबाट विधिवत बाहिरिने छ । ईयूबाट बाहिरिए पछि युकेको भविश्य कस्तो हुने र ईयूको भविश्य कस्तो हुने भन्ने चर्चा चुलिएको छ । उसो त ईयूबाट बाहिरिने विधेयक युकेको संसदबाट बहुमतले पास हुनुपर्छ, त्यो बाँकी छ । विधेयकमा देखिएको असन्तुष्टि र विभाजनले झनै ठूलो संकट थपेको महशुस हुन्छ । उक्त विधेयकलाई प्रम मे कै पार्टीका धेरै नेता र प्रतिपक्षहरुले सबैभन्दा लामो आत्मा समर्पणको नोट भनेका छन भने ईयूका २७ राष्ट्रले गत २५ नोभेम्बरमा सहमति जनाई सकेका छन् । र, उनीहरुले यो भन्दा अरु तलमाथि हुदैन र अर्को पटक शंसोधन पनि हुदैन भनेर स्पष्ट पारिसकेका छन् ।

अब प्रम मेले युकेको संसदबाट उक्त विधेयकलाई पास गराउनु पर्ने हुन्छ । उक्त विधेयक माथि मतदान डिसेम्बरको दोस्रो हप्ता भित्र हुनेछ । ६५० सांसद रहेको संसदमा पास गराउनको निम्ति केही सिटहरु खाली भएका कारण कम्तिमा ३२० जना साँसदहरुले मात्र पक्षमा मतदान गरेपुग्छ । विधेयक पास भएको खण्डमा विधिवत रुपमै युके ईयूबाट अलग हुनेछ भने युकेको निम्ति झनै ठूलो चुनौतीहरु थपिने देखिन्छ । यदि संसदबाट उक्त विधयेक पास नभएको खण्डमा प्रम मेले राजीनामा दिनपर्ने हुन्छ र काम चलाउ सरकार भई अर्को जनमत संग्रह वा विपक्षीको माग अनुसार संसदीय चुनाव गराउनु पर्ने हुन्छ वा उनीले राजीनामा नदिई नो डिल अर्थात कुनैपनि सम्झौता बेगर पारपाचुके गरि युकेलाई नेतृत्व गर्नेछिन् । प्रम मे को कार्यकाल सन् २०२२ सम्म छ ।
राष्ट्रब्यापी तेस्रो ठूलो पार्टीको हैसियत राख्ने लिबरल डेमोक्रेटले आफनो औपचारिक घोषणापत्रमै जनतालाई अन्तिम पटक आफ्नो मत जाहेर गर्न दोस्रो जनमत संग्रह हुनुपर्ने र युके ईयूमै रहनु पर्ने उल्लेख गरेको छ भने दोस्रो ठूलो दल लेबर पार्टीले उपलब्ध विकल्पमा जान सकिने सम्म भनेको छ तर दोस्रो जनमत संग्रहकै कुरा लेबर पार्टीको घोषणापत्रमा छैन । गजब चाहि प्रतिपक्ष लेबर पार्टी र सत्तापक्ष कन्जरभेटिवका अंधिकाश सांसद, नेता कार्यकर्ताहरु युके ईयूमै रहनु पर्ने माग गरिरहेका छन् । हिजो बाहिरिनु पर्छ भनेर मतदान गर्नेहरु अब ईयूमै रहनुपर्ने माग गरिरहेका छन् । तर, संयोग चाहि दुबै ठूला पार्टीका नेता कार्यकर्ताहरु विभाजित छन् । यहि ईयूका मुद्धालाई केन्द्रविन्दु बनाएर छुट्टै शक्ति बनाउने की भनेर पूर्व प्रधानमन्त्री टोनी ब्लेयर काम गरिरहेको पनि बताईन्छ । उसो त ब्लेयर पुनः लेबर पार्टीको नेतृत्वमा फर्कने कुराको पनि चर्चा छ । ब्लेयरले प्रम दुई कार्यकाल गरेपनि बर्तमान लेबरका नेता जेर्मी कोर्विन भन्दा दुई बर्ष कान्छा छन र जेठो कोर्विनमा करेस्मेटिक गुण देखिन्दैन ।

ईयूबाट युके विधिवत छुटेपछि । विधिवत ब्रिट्रीस शक्तिमा समेत ह्रास आउने देखिन्छ । यसका धेरै आयामहरु छन् । ब्रिट्रिस जनताले चाहेअनुसार मैले ब्रेक्जिटलाई कार्यान्वयन गर्दैछु भन्ने प्रम मेको भनाई पूर्ण सहि होइन । ब्रेक्जिट जनमत संग्रहमा बहूमतले स्कटल्याण्ड र नोर्दन आयरल्याण्डवासीले ईयूमै रहनु पर्छ भन्नेमा मतदान गरेका थिए यद्यपी धेरै जनसंख्या भएको इंग्ल्याण्डको अत्यधिक मतदाताहरुले बाहिरिनु पर्ने पक्षमा मतदान गरेको कारण झिनो मतले बाहिरिनु पर्नेमा परिणाम आएको हो । स्कटल्याण्ड र नोर्दन आयरल्याण्डका जनता बेक्जिटको विपक्षमा मत जाहेर गरेको कारण प्रम मे ले ब्रिट्रिस जनताले चाहेको कारण भन्नु पूर्ण सहि होइन । स्कटल्याण्ड स्वतन्त्र हुने वा नहुने भन्ने स्कटिस जनमत संग्रह २०१४ मा युके भित्रै रहने भन्ने परिणामको प्रतिवाद स्वरुप युकेको संसदीय चुनावमा स्कटल्याण्ड छुट्टै राज्य हुनुपर्छ भन्ने माग राख्ने स्कटिस नेशनल पार्टीले ५७ सिट ल्यायो र युके ईयूमै रहनु पर्छ भन्नेमा दबाब दियो । युकेबाट स्कटल्याण्ड अलग्गिनुपर्ने माग अघि निरन्तर अघि बढाई रहेको छ । प्रम मे ले सन् २०१७ मा स्न्याप जेनेरल इलेक्सन अर्थात मध्यावधि चुनाव गराउदा समेत केही सिट घटे पनि स्कटिस नेसनल पार्टीको बहूमत कायमै छ । युके ईयूमा रहदा स्कटल्याण्ड छुट्ने सम्भावना न्यून छ भने ईयूबाट युके छुटने वित्तिकै स्कटल्याण्ड पनि युकेबाट छुटने सम्भावना प्रबल छ । जिब्राल्टार, साइप्रस र फोक्ल्याण्ड आइल्याण्डको सवालहरु पनि एकपछि अर्को गर्दै आईरहेको छन् । अन्ततः कुनैवेला पृथ्वीको २५ प्रतिशत भूभागमा साम्राज्य फैलाएको ब्रिट्रिसहरु इंग्ल्याण्ड र वेल्समै सिमित हुने सम्भावना देखिन्छ । नयाँ पुस्ताहरु अवसर र खुल्ला ब्यापारको निम्ति ईयूमा रहनुपर्ने सोच राख्दछन त्यसैले यदि दोस्रो जनमत संग्रह भएको खण्डमा युके ईयुमै रहनुपर्छ भन्ने पक्षमा परिणाम आउने सम्भावना छ । यसपटक युके बाहिरिएर भविश्यमा पुनः ईयूको सदस्यता लिन युकेले आवेदन दिएको खण्डमा युकेको मापदण्ड पुग्न नसक्ने विज्ञहरुको तर्क छ । मापदण्ड नपुगेकै कारण टर्कीले ईयुको सदस्यता प्राप्त गर्न सकेको छैन ।

ईयूको सवालमा अमेरिका र रसियाको सवाल पनि जोडन पर्नेहुन्छ भलै यस विषयमा चर्चा हुदैन । दोस्रो विश्वयुद्ध लगतै यूरोपको पूर्ननिर्माण तथा शक्तिशाली रसियाको विरुद्धमा दिर्घकालिन मोर्चा बनाउन अमेरिकाले मासहल प्लान (१९४८¬–१९५१) अन्तर्गत १३ विलियन डलर खर्च गरी अन्ततः पेरिसमा कोल्ड एण्ड स्टील कम्युनिटी (इसिएससि) १८ अप्रिल १९५१ मा स्थापना भयो । त्यसबेला युकेको आर्थिक बृद्धि ईयू भन्दा ९८ प्रतिशत उच्च थियो । उक्त संगठन निर्माण भएको दुई दशक पछि युकेले सदस्यता लियो त्यो बेला युकेको आर्थिक दर ईयू भन्दा ८ प्रतिशत तल पुगेको अवस्था तथ्याङ्कले देखाउछ । सिर्फ २० बर्षमा युकेको आर्थिक स्थिती अत्यन्तै नकरात्मक अवस्थामा पुगेको पाइन्छ । सन् १९६१ मा पहिलो पटक, सन् १९६३ मा दोस्रो पटक र सन् १९६७ मा तेस्रो पटक सदस्यता पाँउ भनी आवेदन हालेको मध्ये पहिलो र दोस्रो पटक तत्कालिन फ्रेन्च राष्ट्रपति चाल्स दि गौलेले युके ईयुको निम्ति उपयुक्त छैन भन्ने दावी सहित भिटो प्रयोग गरि सदस्यता दिनबाट रोक्यो भने उनले फेन्चको राष्ट्रपति पदबाट सन् १९६९ मा राजिनामा गरेलगतै विचराधिन रहेको तेस्रो आवेदनलाई प्रकृयामा लगेर १ जनवरी १९७३ मा युकेलाई ईयूको सदस्यता प्रदान गरयो । र सदस्यता प्राप्त गरिसकेपछि युकेले ईयूमा रहने की नरहने भन्ने बारेमा जनमत संग्रह सन् १९७५ मा गरायो । जब की युकेले सदस्यता प्राप्त गरिसकेको थियो । र, ६७.२ प्रतिशतले ईयूमै रहने भन्ने पक्षमा मतदान गरे । त्यसबेला युकेको आर्थिक स्थिती अत्यन्तै कठिन अवस्थामा थियो र केही विज्ञहरु तर्क राख्छन त्यो बेला युकेको कर्मचारीहरुलाई तलब दिन, आर्थिक रुपबाट देशलाई बचाउनको निम्ति युकेले ईयुको सदस्यता लिन बाँध्य हुनुपरेको थियो । ईयुको सदस्यता लिए संगै युकेको आर्थिक स्थिती सन्तुलित र संमृद्ध भएको पाईन्छ । विशेष गरेर दोस्रो विश्व युद्धले सबैभन्दा धेरै असर ब्रिट्रिस सामाज्यलाई परेको र स्वीस क्यानलको विवाद सन् १९५६ मा आईपुग्दा ब्र्रिट्रिस सामाज्य अन्त भएको महशुस संगै युकेले धेरै उतारचढाव ब्यहार्दै आएको छ ।

युकेमा प्रचलनमा रहेका कानुनहरु मध्ये ६२ प्रतिशत ईयू कानुनहरु छन् । ईयूका कानुनहरु मध्ये १९ हजार कानुनलाई ब्रिट्रिस कानुनमा रुपान्तर दुईबर्षभित्र गरिसक्न ३३ हजार विज्ञहरु भर्ति गर्नुपर्ने अनुमान पनि बाहिर आएका थिए । उसो त युकेले प्रत्येक बर्ष लगभग १३.१ विलियन पाउण्ड (२०१६) ईयू बजेटको लागि दिएको देखिए पनि प्रत्येक बर्ष ८ विलियन पाउण्ड अर्थात प्रतिहप्ता एकसय पैत्तिस मिलियन तिर्ने गर्दछ तर ती रकम युकेका किसानहरुलाई अनुदान र वैज्ञानिक अनुसन्धानको नामबाट युकेमै आउने गर्दछ । जनमत पूर्व प्रतिहप्ता ३ सय पचास मिलियन ईयूलाई दिनको सट्टा राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) लाई दिने भन्ने नारा चलाएको कारण मुख्य अभियानकर्ता बोरिस जोन्सनलाई युकेको तथ्याङ विभागले गलत शंन्देश नदिन भनी पत्र लेखेको थियो । यहि गलत प्रचारप्रसारको कारण पनि जोन्सनलाई हाँसोको पात्र बनाएका थिए । अहिलेको अत्यन्तै जटिल परिस्थितीमा नो डिल अर्थात कुनैपनि सम्झौता बेगर पारपाचुके भएको खण्डमा ईयूलाई तिर्नपर्ने ३९ विलियन पाउण्ड समेत तिर्न बाँध्यकारी हुने छैनन् ।

यस बर्ष सन् २०१८ मा विश्वको पाचौं ठूलो आर्थिक मुलुक युके भएकोले पनि ब्रिट्रीस जनतामा आत्मा निर्भर हुन सकिन्छ भन्ने आत्माविश्वास जागेको हुनुपर्छ तर ख्याल गर्नुपर्ने कुरा के हो भने विश्वको चौथो ठूलो आर्थिक भएको जर्मनी र सातौं ठूलो आर्थिक भएको मुलुक फ्रान्स हो र आठौ ठूलो आर्थिक भएको मुलुक इटाली चाहि ईयू भित्र छन् । सामान्यतया युकेका जनता संग अहिले दुई विकल्पहरु छन् । आर्थिक संमृद्धि पछ्याएर ईयूमै रहि आफ्नो भूमि आप्रवासीहरुलाई अतिक्रमण गर्नदिने की? बरु आर्थिकरुपबाट गरिबै भएपनि आफ्नो भूमि जोगाउने भन्ने हो । अहिले प्रम मे जोखिम मोलेरै भएपनि संमृद्धि भन्दा भूमि र स्वशासन फर्काउने अभियानमा रहेकी देखिन्छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प आप्रवासीहरु प्रति अनुदार देखिनु र प्रम मेको ब्रेक्जिट थ्रु गराउने जोडदार पहलकदमी उस्तै देखिन्छ ।

ईयूले युकेलाई सधै अक्कडो साथी भन्ने गरेको छ । संयोग कस्तो भने लामो समयदेखि ईयु पार्लियामेन्टमा नाइजल फराज साँसद छन र पार्लियामेन्टमा उनको गैर मर्यादित हर्कत पनि मननयोग्य छ । ईयूको स्थापना काल, सदस्यता दिने समय र सदस्य भईसकेपछि पनि सबैभन्दा बढि समस्याहरु ओकल्ने युके नै भएकोले सामरिक हिसाबबाट ईयुलाई युके चाहिएको हुनुपर्छ तर ईयु बनाउने सवालमा युकेको भूमिका अत्यन्तै कम र नकरात्मक भएकोले पनि बढार्नुपर्ने कसिंगर हावाले उडाएको पनि हुन सक्दछ ‘बेक्जिट’ अर्थात यूरोपियन युनियनबाट युके बाहिरिने काम । त्यसैले पनि सहज रुपबाट विदाई गर्न लालयित छ ईयू भन्ने अनुमान गर्न सकिन्छ, तर पुरस्कृत गर्ने पक्षमा भने छैन । किन की ईयूको विपक्षमा फ्रान्स र जर्मनीका जनताहरुको आवाज चर्को छ । ईयूको संस्थापक मध्येका एक इटाली आर्थिक संकटमा फसेको अवस्था छ । यसले ईयू स्वयंको पनि भविश्य अनिश्चित देखाउछ । ईयूबाट छुटेको मुलुक संमृद्धिमा गए अन्य बाँकी राष्ट्रहरुले पनि त्यहि बाटो पछ्याउन सक्ने सम्भावना प्रति पनि ईयू संचेत हुनुपर्छ । त्यसैले युकेलाई दण्ड वा पुरस्कृत नगरि सहज विदाईमा लागेको देखिन्छ ।

सन १९५१ कोल्ड एण्ड स्टील कम्युनिटी, सन् १९५७ मा यूरोपियन इकोनमिक कम्युनिटी, सन् १९६५ मा यूरोपियन कम्युनिटी, सन् १९८६ मा यूरोपियन पोलिटिकल कोअपरेसन र सन् १९९२ मा नेदरल्याण्डको मासट्रिस भन्ने ठाँउमा भएको भेलाले यस अघिका सबै अंगहरुलाई गाभेर ट्रिटी अफ युरोपियन युनियन नामाकरण भयो त्यसैको रुप नै अहिलेको यूरोपियन यूनियन हो । यहा गजबको कुरा के हो भने मास्सट्रिच टिट्री अर्थात अहिलेको शक्तिशाली ईयूको संरचनाको पूर्नउत्थानकर्ता पूर्वी जर्मनीका भूतपूर्व सेना कमाण्डर हुन । जो दोस्रो विश्व युद्ध र शित युद्धमा रसियाबाट पिडित बनेका थिए । यसर्थ पनि ईयूलाई वैभवशाली रसियाबाट आक्रमण वा हस्तक्षेप हुनसक्ने सम्भावनाको विरुद्धमा भएको एउटा मोर्चा हो भन्न सकिन्छ । रसिया संग सिमाना जोडिएका पूर्वी यूरोपका लगभग सबै मुलुकहरु ईयूमा गाँभिएका छन् । कतिले ईयूलाई किश्चियानिटी क्लव पनि भन्ने गरेका छन् । त्यसैले ईस्लाम मुलुक टर्कीलाई सदस्यता नदिएको तर्क गर्छन । रसियाबाट पूर्वी यूरोपका केही मुलुक छिचोले पछि मात्र सानो टापु युके आउछ । अर्थात रसियाको आक्रमण वा अतिक्रमणको सम्भावना पूर्वी यूरोपका मुलुकहरुको तुलनामा युकेलाई कम छ । त्यसैले पनि ईयूबाट यूके छुटन चाहेको हुनसक्दछ । बाहिरी आक्रमणको डरले ससाना राज्यहरु एकजुट भएर स्वीजरल्याण्ड बनेको इतिहास छ । पूर्ववती औपनिवेसिक ब्रिट्रीसको आक्रमण हुनसक्ने डरले अमेरिकाका दर्जनौ राज्यहरु एकजुट बनेर संयुक्त राज्य अमेरिका बनेको इतिहास पनि छ । त्यस्तै बेल्जियम पनि बाहिरी आक्रमणको डरले एकृकित बनेको ईतिहास संग ईयू गठन र संचालनको पनि इतिहास मिल्न गएको छ । यद्यपी ब्यापार र संमृद्धिको निम्ति मात्र ईयू निर्माण भएको बहस पाइन्छ ।

अन्तमा, इतिहासको विरासत ठूलो हुन्छ यद्यपी इतिहासका ठूठूला साम्राज्यहरु टुक्रन्दैटुकन्दै अस्थित्वहिन बनेका इतिहासहरु पनि ताजै छन् । त्यसैले लोकआधुनिक समय बगेको दिशा भन्दा ठिक विपरित बहनुले युकेलाई कता लैजान्छ हेर्न बाँकी छ । सहअस्थित्व र संघीय ढाँचामा अघि बढिरहेको यूरोपियन युनियन (संघ) बाट बाहिरिए पनि युके युरोप कै भूगोलमा रहनेछ । बोर्डरलेस वल्ड अर्थात कस्मोपोलिटिन विश्व बनि रहेको बेला प्रम मे विपरित दिशामा कतिसम्म बहन सक्छन त्यो पनि हेर्न बाँकी छ । र, ईयु कमिसनका प्रेसिडेण्ट जिनकलाउड जंकरले भने झै ब्रेक्जिट युकेको हितमा छैन र ईयूको हितमा पनि छैन तर यो ब्रिट्रीस जनताको रोजाई हो । दुवै पक्षको संमृद्धि र प्रगतिको कामना सहित ।

२७ नोभेम्बर २०१८, आसफोर्ड


(लेखक क्यान्टवरी सिसि युनिभर्सिटीमा राजनीति र युरोप विषयमा अध्ययनरत छन् ।)